close

राष्ट्रपति छँदा आफैंले प्रतिबन्ध लगाउन खोजेको टिकटकमा जोडिए डोनल्ड ट्रम्प

टेकपाना टेकपाना

जेठ २०, २०८१ १६:१६

राष्ट्रपति छँदा आफैंले प्रतिबन्ध लगाउन खोजेको टिकटकमा जोडिए डोनल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कुनै समय आफैले प्रतिबन्ध लगाउन खोजेको सामाजिक सञ्जाल टिकटकमा जोडिएका छन् । रिपब्लिकन पार्टीबाट आउने राष्ट्रपति चुनावमा उम्मेद‌वारी दिन खोजिरहेका ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अकाउन्ट खोलेर भिडिओ राख्न थालेका हुन् । 

टिकटकमा ट्रम्पको युजरनेम @realdonaldtrump र अकाउन्ट नाम 'प्रेसिडेन्ट डोनल्ड जे ट्रम्प' रहेको छ । उनको यो अकाउन्ट भेरिफाइड पनि भइसकेको छ । साथै उनले आफ्नो अकाउन्टबाट पहिलो भिडिओ समेत पोस्ट गरेका छन् । 

सो भिडियोमा ट्रम्पले न्यु जर्सीको नेवार्कमा भएको अल्टिमेट फाइटिङ च्याम्पियनशिप फाइटमा फ्यानहरूलाई अभिवादन गरिरहेको देख्न सकिन्छ । यो समाचार तयार पार्दासम्म उनको अकाउन्टमा पाँच लाख ७६ हजार बढी फलोअर जुटिसकेका छन् । 

विशेष गरी युवा लगायतका सम्भावित मतदातासम्म पुग्न ट्रम्पले टिकटकको सहारा लिएको अनुमान गरिएको छ । तर उनै ट्रम्पले आफू राष्ट्रपति हुँदा सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । उनको  सो कदमलाई अदालतले रोकिदिएको थियो । 

त्यस्तै उनले राष्ट्रिय सुरक्षाका लागि टिकटक खतरा भएको तथा त्यसले युवाहरूलाई हानी पुर्‍याउने दाबी गरेका थिए । अहिले पनि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास जारी नै छ । यसका लागि २० अप्रिलमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गरिसकेको छ । 

जसमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर समेत गरिसकेका छन् । उक्त कानुन अनुसार प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकमा भएको अमेरिकी डेटा १९ जनवरी २०२५ भित्र दिनुपर्ने वा प्लेटफर्मको शेयर बेच्नुपर्नेछ । 

तर टिकटकको मातृ कम्पनी बाइटडान्सले भने अमेरिकी प्रतिबन्धबाट बच्न अमेरिकी सङ्घीय अदालतमा मुद्दा दर्ता गरिसकेको छ । यस्तो परिवेश बीच ट्रम्प टिकटकमा जोडिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ १६:१६