काठमाडौं । मौसम केन्द्रको सेन्सर बिग्रिंदा गत बुधबार भारतको राजधानी नयाँ दिल्लीमा ५२.९ डिग्री सेल्सियस (१२७.२२ फरेनहाइट) तापमान मापन भएको पाइएको छ । भारतको पृथ्वी विज्ञान मन्त्री किरेन रिजिजुले दिल्लीको मुंगेशपुर मौसम केन्द्रको सेन्सर बिग्रिंदा सो तापमान मापन भएको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा भारत मौसम विज्ञान विभाग (आईएमडी) को टोलीले सो विषयमा गरेको अध्ययन प्रतिवेदन समेत राखेका छन् । जहाँ बिग्रेको सेन्सरले गर्दा सो दिन दिल्लीको नियमित तापक्रमभन्दा तीन डिग्री बढी मापन भएको उल्लेख गरिएको छ ।
सो दिनको तापक्रम भारतमा हालसम्म मापन गरिएकोमध्ये सबैभन्दा धेरै भनिएको थियो । यद्यपि उक्त तापक्रम बिग्रेको सेन्सरले मापन गरेको भएता पनि दिल्लीको तापक्रमको रेकर्ड भने ब्रेक भएको छ । दिल्लीका अन्य दुई मौसम केन्द्रहरूले सो दिन क्रमश: ४९ डिग्री सेल्सियस (१२०.२ फारेनहाइट) र ४९.१ डिग्री सेल्सियस (१२०.३८ फारेनहाइट) तापक्रम रिपोर्ट गरेका थिए । आईएमडीले ती दुवै केन्द्रको तापक्रम पनि जाँच गरेको तर तिनमा कुनै सेन्सर त्रुटिहरू नभएको जनाएको छ ।
यसअघि सन् १९९८ को मे महिनामा रेकर्ड गरिएको ४८.४ डिग्री सेल्सियस (११९.१२ फारेनहाइट) लाई नयाँ दिल्लीको अहिलेसम्मको उच्चतम तापक्रम मानिदैँ आएको थियो ।