काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले टिकटक प्रतिबन्धका कारण टेलिकम कम्पनीलाई घाटा भएको भन्दै फुकुवा गर्न सरकारलाई अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले टिकटकजस्तै अन्य प्लेटफर्म सञ्चालन भइरहँदा टिकटकमाथि मात्र प्रतिबन्ध लगाउनु उचित नभएको तर्क गरे ।
“सरकारले कात्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाएको थियो,” सांसद साहले भने, “भीपीएन प्रयोग गरेर प्रयोगकर्ताले अझै पनि चलाइरहेका छन् । हिजोको दिनमा ९० लाखको हाराहारीमा चलाइरहेका थिए भने अहिले ५० लाखको हाराहारीमा चलाइरहेको अनौपचारिक तथ्याङ्क छ ।”
टिकटकको विकल्पमा आएका फेसबुक तथा इन्स्टा रिल्स, यट्युब शर्ट्स चलिरहेकै अवस्थामा टिकटकमाथि मात्र विकृति फैलिएको भन्दै प्रतिबन्ध लगाउनुको कुनै औचित्य नभएको उनको तर्क छ ।
उनले अगाडि भने, “यस्तोमा सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक प्रतिबन्ध लगाएपछि अपराध र विकृति घटेको तथ्याङ्क त छैन होला ।”
सरकारले टिकटकमाथि प्रतिबन्ध गर्दा डेटा बिक्रीबाट हुने आम्दानी घटेको उनले सुनाए । “एनसेलको एक अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रुपैयाँ घाटा भएको अनौपचारिक तथ्याङ्कले देखाएको छ,” उनले थपे ।
त्यस्तै टिकटकबाट सानो व्यापारी जसले सञ्चालन गरिरहेको घरेलु व्यवसाय र स्वतन्त्र व्यवसाय धरापमा परेको उनको भनाइ छ । यसले गर्दा व्यवसाय विस्थापित हुने स्थिति उब्जिएको र सर्वसाधारण बेरोजगार हुने अवस्था आएको दृष्टान्त साहले राखे ।
“अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बिना रोकतोक चलिरहेका छन्,” उनले थपे, “तर, टिकटकमाथि विकृति र अपराध फैलिएको भन्ने कुरा स्वीकार्य छैन । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै व्यवस्थित र नियन्त्रित रूपमा टिकटक खोल्न नेपाल सरकारसँग आग्रह गर्दछु ।”