close

चिनियाँ बजारमा एप्पलको आईओएसलाई ह्वावेको हार्मोनीओएसले पछि पार्यो

टेकपाना टेकपाना

असार ३, २०८१ १७:४४

चिनियाँ बजारमा एप्पलको आईओएसलाई ह्वावेको हार्मोनीओएसले पछि पार्यो

 

काठमाडौं । चिनियाँ बजारमा ह्वावे टेक्नोलोजिजले एप्पलको आईओएसलाई उछिन्दै सबैभन्दा ठुलो मोबाइल अपरेटिङ सिस्टम मध्येको एक बन्न सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको पछिल्लो बजार तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासिकमा एप्पलको आईओएसलाई उछिन्दै ह्वावेको हार्मोनीओएस चीनको दोस्रो ठूलो मोबाइल अपरेटिङ सिस्टम बनेको हो ।

अहिले हार्मोनीओएसले कूल बजार हिस्सामध्ये १७ प्रतिशत कब्जा गरेको बताइएको छ । जुन २०२३ को पहिलो त्रैमासिकमा आठ प्रतिशत थियो । यता आईओएसको हिस्सा भने २० बाट १६ प्रतिशतमा खुम्चिन पुगेको जनाइएको छ । यसबाट चिनियाँ बजारमा आईफोन १५ सिरिज खासै सफल नभएको अनुमान गर्न सकिन्छ ।

विशेष गरी चीनमा ह्वावेको फ्यागशीप स्मार्टफोन मेट ६० र मेट ७० सिरिजको उच्च माग भएकाले हार्मोनी ओएसले यो उचाइ चुम्न सफल भएको उल्लेख छ । यसका साथै हार्मोनीओएसको कम्प्युटर भर्सन पनि ल्याउने चर्चा रहेको छ । जसले गर्दा हार्मोनीओएसलाई यो सफलता मिलेको बताइएको छ ।

अमेरिकी प्रतिबन्धमा परेपछि अगस्ट २०१९ मा ह्वावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको थियो । चिनियाँ बजारमा होङ्मेङ नाम रहेको यस अपरेटिङ सिस्टमलाई विश्वबजारमा भने हार्मोनीओएसले चिन्ने गरिएको छ । 

अहिले घरेलु प्रयोगकर्ता बिच निकै लोकप्रिय बन्दै गइरहेको हार्मोनी अपरेटिङ सिस्टमले अब एन्ड्रोइडलाई उछिन्न मात्र बाँकी छ । हाल चीन सहित विश्वमा नै एन्ड्रोइड सबैभन्दा बढी प्रयोग गरिने मोबाइल अपरेटिङ सिस्टम हो ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १७:४४