काठमाडौं । भारतमा सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) र भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि प्रतिबन्ध लगाउन माग उठेको छ । देशको संस्कृति र सांस्कृतिक धरोहरलाई खतरा पुर्याउने गरी यी प्लेटफर्ममा अवैध व्यवहार भइरहेको भन्दै ‘सेभ कल्चर सेभ भारत फाउन्डेसन’ले प्रतिबन्ध लगाउन माग गरेको हो ।
प्रेस क्लब अफ इन्डियामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त फाउन्डेसनले यी प्लेटफर्ममा पोर्नोग्राफी र यौन सम्बन्धी व्यक्तिगत सामग्री प्रसारण भइरहेको उल्लेख गरेको छ ।
फाउन्डेसनले यी प्लेटफर्महरूलाई बाल यौन अपराध रोकथाम ऐन २०१२, सूचना प्रविधि ऐन २०००, महिलाको अशोभनीय प्रतिनिधित्व (रोकथाम) ऐन लगायतका भारतीय कानूनहरूको स्पष्ट उल्लङ्घन गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा ‘सेभ कल्चर सेभ भारत फाउन्डेसन’का संस्थापक उदय माहुरकरले एक्स, नेटफ्लिक्स लगायतका कारण भारतमा पश्चिमी प्रभाव र नैतिक पतन भइरहेको तर्क गर्दै भारतको सांस्कृतिक अखण्डतामाथि प्रश्न उठाए । यौन स्पष्ट सामग्रीले भारतको सांस्कृतिक सम्पदालाई कमजोर बनाउने र युवा नैतिकतालाई भ्रष्ट बनाउने उनको भनाइ थियो ।
फाउन्डेसनका राखेको मागसँगै डिजिटल युगमा सांस्कृतिक संरक्षण, सामाजिक मूल्यमान्यता र व्यक्तिगत स्वतन्त्रताबीचको सन्तुलनबारे बहस सुरु भएको छ। नेटफ्लिक्स र एक्स प्रतिबन्धको मागलाई लिएर भारतीय सरकारले भने कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।