close

जेठ महिनामा नेपाल भित्रिए एक लाख ८१ हजार स्मार्टफोन, सरकारलाई ४३ करोड रुपैयाँ राजस्व

टेकपाना टेकपाना

असार ७, २०८१ १९:२

जेठ महिनामा नेपाल भित्रिए एक लाख ८१ हजार स्मार्टफोन, सरकारलाई ४३ करोड रुपैयाँ राजस्व

काठमाडौं । जेठ महिनामा मात्रै नेपालमा एक लाख ८० हजारभन्दा बढी स्मार्टफाेन भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेकाे आर्थिक वर्ष २०८०/८१ को पछिल्लाे ११ महिनाकाे तथ्याङ्क अनुसार जेठ महिनामा दुई अर्ब ३१ करोड ८६ लाख रुपैयाँ बराबरको विभिन्न ब्राण्डका एक लाख ८१ हजार ४९१ थान स्मार्टफोन भित्रिएका हुन् । यसबाट सरकारले ४३ करोड २४ लाख रुपैयाँ राजस्वसमेत प्राप्त गरेको छ । 

गत वैशाखमा दुई अर्ब २५ करोड रुपैयाँ बराबरको एक लाख ३६ हजार ७९९ थान स्मार्टफोन भित्रिएका थिए । वैशाखको तुलनामा जेठमा ४४ हजार ६९२ बढी स्मार्टफाेन भित्रिएका छन् ।

यस आर्थिक वर्षमा धेरै फोन आयात हुने महिनामध्ये जेठ तेस्रोमा परेकाे छ । गत असोजमा चार अर्ब ६६ करोड रुपैयाँ बराबरको दुई लाख ७५ हजार ९३४ थान स्मार्टफाेन र भदौमा दुई अर्ब ४९ करोड रुपैयाँ बराबरको एक लाख ८६ हजार ४८४ थान स्मार्टफोन भित्रिएका थिए । 

यसरी चालु आर्थिक वर्षकाे ११ महिना सकिँदासम्म नेपाली बजारमा कुल २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १७ लाख १० हजार १३५ थान स्मार्टफोन आयात भएका छन् । यसबाट सरकारले चार अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १९:११