close

यसरी प्रयोग गर्नुहोस् विद्युतीय चुल्होमा भएको टाइमर फिचर

टेकपाना टेकपाना

असार ८, २०८१ १३:३९

यसरी प्रयोग गर्नुहोस् विद्युतीय चुल्होमा भएको टाइमर फिचर

काठमाडौं । आधुनिक किचन विद्युतीय चुल्हो बिना अधुरोजस्तै बनेको छ । स्टाइलिस, सुरक्षित र सहज हुने भएकाले पनि विद्युतीय चुल्हो धेरैको रोजाइमा पर्ने गरेको छ । 

मुख्यतः एलपी ग्यासको विकल्पमा मूल्यका हिसाबले याे किफायती हुन्छ । बजारमा विशेषगरी दुई प्रकारका विद्युतीय चुलो छन्; इन्डक्सन र इन्फ्रारेड । बजारमा अहिले इन्डक्सन र इन्फ्रारेड दुवै चुलोको माग उत्तिकै छ । 

सुन्दा एकै जस्तो लागे पनि यी दुवै चुलो फरक छन् । इन्डक्सन चुलोमा तामाको तारबाट बनेको कोइल हुन्छ भने इन्फ्रारेड चुलोमा ह्यालोजेन ल्याम्प र रेडियन्ट कोइलद्धारा हिट (तातो) उत्पन्न हुन्छ । 

सुरूवातमा गरिएको थोरै लगानीले ग्राहकले यीबाट दीर्घकालीन फाइदा लिन सक्छन् । बजारमा धेरै थरीका विद्युती चुल्हो उपलब्ध भएपनि कतिपय फिचर भने साझा हुन्छन् । टाइमर पनि त्यही मध्येको एक हो । 

यस फिचरले विद्युतीय चुल्होलाई आधुनिक पनि बनाएको छ । तर कतिपयलाई थाहा नहुँदा यो फिचर प्रयोगविहीन बनिरहेको हुन्छ । आज हामी विद्युतीय चुल्होमा यो फिचर कसरी प्रयोग गर्ने त्यसबारे चर्चा गर्ने छौं:

-प्लगमा जोडेर चुल्हो अन गर्नुहोस् । 

-दिइएका विभिन्न फङ्सनमध्ये एउटा छान्नुहोस् । अथवा आफैंले तापक्रम निश्चित गर्नुहोस् । 

-अब टाइमर बटनमा क्लिक गर्नुहोस् । कति समयको टाइमर बनाउने भनेर निश्चित गर्न चुल्होमा - र + चिह्न दिइएको हुन्छ । तिनमा क्लिक गरेर समय सेट गर्नुहोस् । प्राय: अधिकांश चुल्होमा मिनेटमा समय देखाइएको हुन्छ । जस्तो; ००:१० देखिए सो १० मिनेट हो । 

-टाइमर सेट गरेर केही क्षण त्यत्तिकै छाड्नुहोस् । अब त्यहाँ तापक्रम र टाइमर क्रमशः पप हुन्छ । 

-जसै सो टाइमरको समय सकिन्छ, स्वतः चुल्हो पनि अफ हुन्छ । 

विशेष गरेर यो फिचर भान्सामा अलि व्यस्त भएको समयमा उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: असार ८, २०८१ १५:२४