close

पोखरामा पठाओ र इनड्राइभका २६ ओटा सवारी साधन नियन्त्रणमा

टेकपाना टेकपाना

असार १०, २०८१ १८:३१

पोखरामा पठाओ र इनड्राइभका २६ ओटा सवारी साधन नियन्त्रणमा

काठमाडौं । अनधिकृत रूपमा राइड शेयरिङ एप प्रयोग गरी भाडामा यात्रु ओसारपसार गरेको भन्दै पोखरामा सवारी साधन नियन्त्रणमा लिन थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आइतवार पोखराका विभिन्न स्थानबाट २६ ओटा राइड शेयरिङ गर्ने सवारी साधन नियन्त्रणमा लिएको हो । 

गण्डकी प्रदेशभित्र राइड शेयरिङ सेवा सम्बन्धी कानुनी ‍मापदण्ड नबनेकाले पठाओ, टुटल, इनड्राइभजस्ता एपमार्फत यात्रु ओसारपसार गर्नु अवैध रहेकाे प्रहीकाे भनाइ छ । ‍

यसरी यात्रु ओसारेको आरोपमा २२ ओटा दुई पाङ्ग्रे सवारी र चार ओटा ट्याक्सी गरी जम्मा २६ ओटा सवारी साधन नियन्त्रणमा लिई साेमवार सम्बन्धित सवारीधनीलाई सम्झाई बुझाई जिम्मा लगाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

गण्डकी प्रदेश सरकारले हालै एक सूचना सार्वजनिक गर्दै प्रदेशभित्र राइड शेयरिङ एपहरू अनाधिकृत भएको उल्लेख गरेको थियो । “गण्डकी प्रदेश सरकार तथा यातायात व्यवस्था कार्यालयको अनुमति नै नलिई हाल केही विदेशी एपहरूले सार्वजनिक तथा निजी सवारीमा आफ्नो एप सञ्चालन गर्न दिई अनधिकृत रूपमा गण्डकी प्रदेशभित्र एप सञ्चालनमा ल्याएको पाइएको तथा निजी सवारीमा समेत एप सञ्चालन गर्न दिई कानुन विपरीत निजी सवारीले यात्रु ओसारपसार गर्न सक्ने अवस्था सिर्जना हुन गएको दखिएकोले उक्त एपबाट सवारी भाडा लिने कार्य तथा निजी सवारीले यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्नु गराउनु हुन यो सूचना जारी गरिएको छ,” उक्त सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशभित्र राइड शेयरिङ एपहरूमार्फत निजी तथा सार्वजनिक सवारी साधनले यात्रु ओसारपसार गर्ने कार्य अनधिकृत रहेको भन्दै प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८१ १२:१३