close

एन्ड्रोइड, आईफोन तथा पीसीमा फेसबुक प्रोफाइल लक गर्ने तरिका

टेकपाना टेकपाना

असार ११, २०८१ १४:१

एन्ड्रोइड, आईफोन तथा पीसीमा फेसबुक प्रोफाइल लक गर्ने तरिका

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको गोपनीयताका लागि ल्याएको चर्चित फिचर हो, प्रोफाइल लक (Profile Lock) । यो त्यस्तो सुविधा हो, जसलाई प्रयोग गरेको अवस्थामा तपाईंले फेसबुकमा राखेका पोस्ट, स्टोरी, फोटो, रिल्स, भिडिओ वा अन्य कुनै अपडेट तपाईंसँग साथी भएका व्यक्तिले मात्र देख्न पाउँछन् ।

त्यस्तै तपाईंको फेसबुक प्रोफाइल वा कभर फोटो जुम गरेर हेर्न पाउने सुविधा पनि तपाईंसँग एड भएका अकाउन्टलाई मात्र हुन्छ । 

‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ । त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले लिन सक्दैन । त्यसैले यो फिचर प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ । 

एन्ड्रोइड र आईफोनमा प्रोफाइल लक गर्ने तरिका

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् । 

-अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् । 

-त्यहाँ  ‘लक प्रोफाइल’ (Lock Profile) अप्सन देखिएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा सो फिचर प्रयोग गर्न सक्नुहुन्छ । 

-यदि उक्त फिचर इनेबल गर्न चाहनुहुन्छ भने लक प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस् ।

-अनि तलपट्टि रहेको ‘लक योर प्रोफाइल’ अप्सनमा ट्याप गर्नुहोस् । 

-यति गर्नुभयो भने तपाईंको प्रोफाइल लक हुन्छ ।

नोट: यदि तपाईँको फेसबुक प्रोफाइल मा प्रोफेसनल मोड एक्टिभ छ भने तपाईँले प्रोफाइल लक गर्न सक्नुहुन्न । यस अवस्थामा प्रोफेसनल मोड बन्द गरी प्रोफाइल लक गर्न सक्नुहुन्छ ।

पीसीमा फेसबुक प्रोफाइल कसरी लक गर्ने ?

-डेस्कटप ब्राउजरबाट पनि फेसबुकमा गएर प्रोफाइल लक गर्न सकिन्छ । यसका लागि निम्न तरिका अपनाउनुहोस्:

-आफ्नो ब्राउजरमा facebook.com खोली अकाउन्ट लगइन गर्नुहोस् ।

-अब आफ्नो प्रोफाइलमा जानुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको थ्री डट मेन्युमा क्लिक गर्नुहोस् । यसमा क्लिक गर्नुहोस् र लक प्रोफाइल विकल्पमा जानुहोस् । 

-त्यहाँ एक पप-अप मेसेज देखिनेछ, जसमा प्रोफाइल लकले कसरी काम गर्छ भन्ने कुरा उल्लेख गरिन्छ । त्यसपछि तल रहेको ‘लक योर प्रोफाइल’ बटन क्लिक गरी प्रोफाइल लक गर्न सकिन्छ ।

प्रोफाइल लक गर्दा केके हुन्छन् फाइदा ?

गोपनीयता सुरक्षित गर्छ

याे सुविधाले तपाईँको फेसबुक प्रोफाइल लक मात्रै नगरी व्यक्तिगत जानकारीमा अनावश्यक व्यक्तिलाई पहुँच दिनबाट राेक्छ । प्रोफाइल लक हुँदा केवल तपाईंसँग जाेडिएका साथीहरूले मात्र पूरा प्रोफाइल र पोस्टहरू हेर्न सक्छन् ।

अपरिचित र साथीको रूपमा स्वीकार (एसेप्ट) नगरेका व्यक्तिले तपाईंको प्रोफाइल फाेटाे, कभर फोटोजस्ता सीमित जानकारीमात्र देख्नेछन् । यो सुविधाले अनधिकृत व्यक्तिहरूलाई व्यक्तिगत विवरणहरू हेर्नबाट रोकेर तपाईंको गोपनीयता सुरक्षित गर्न मद्दत गर्दछ ।

पहिचान चोरी विरुद्ध सुरक्षा

फेसबुक प्रोफाइल लक गरेर तपाईंले आफ्नो पहिचान चोरीको जोखिम कम गर्न सक्नुहुन्छ । फेसबुकमा जाेडिएका  साथीहरूले मात्र तपाईंको प्रोफाइल हेर्न र तपाईंका पोष्टहरू पहुँच गर्नसक्ने हुनाले खराब नियत भएका व्यक्तिहरूलाई तपाईंको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्न गाह्रो हुन्छ ।

पहिचान चोरीमा संलग्न हुने व्यक्तिहरूले प्राय सामाजिक सञ्जालका अकाउन्टहरूलाई निशाना बनाई व्यक्तिगत जानकारी सङ्कलन गर्छन् । फेसबुक प्रोफाइल लक गर्दा त्यस्ता व्यक्तिले तपाईंको जन्ममिति, सम्पर्क जानकारी, तपाईँ भएको ठाउँ, पोस्ट भएका सामग्री र अन्य विवरण पहुँच गर्न सक्दैनन् । 

नियमित रूपमा आफ्नो प्राइभेसी सेटिङहरू रिभ्यु र अपडेट गर्नुका साथै बलियो पासवर्ड प्रयोग गर्न ध्यान दिनुपर्छ । त्यस्तै शङ्कास्पद मेसेज वा फ्रेन्ड रिक्वेस्टहरूबाट सावधान रहँदा पहिचान चोरी हुनबाट जोगिन सकिन्छ ।

नचाहिने फ्रेन्ड रिक्वेस्ट कम गर्छ

प्रोफाइल लक गर्दा अनावश्यक व्यक्तिहरूले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्दैनन् । यसले अज्ञात वा संदिग्ध अकाउन्टहरूबाट अनावश्यक रिक्वेस्टहरूको संख्या कम गर्न मद्दत गर्दछ ।

त्यस्ता फ्रेन्ड रिक्वेस्टहरू फिल्टर गरेर तपाईंले फेसबुकमा थप व्यवस्थित र सुरक्षित साथीहरूको सूची कायम राख्न सक्नुहुन्छ ।

अनावश्यक ट्यागिङ र पोष्टहरू रोक्छ

याे सुविधा प्रयाेग गरेपछि तपाईंको प्रोफाइलमा सीमित ट्यागिङ र पोस्टिङ क्षमताहरू हुनेछन् । यसको मतलब फेसबुकमा साथी नभएका व्यक्तिहरूले तपाईंको अनुमति बिना तस्विर वा पोस्टहरूमा तपाईंलाई ट्याग गर्न सक्दैनन् । 

पछिल्लो अध्यावधिक: असार ११, २०८१ १४:९