close

सिधाकुरा डटकमका सम्पादक र प्रकाशक सहित तीन जना विरुद्ध साइबर अपराधको मुद्दा दायर

टेकपाना टेकपाना

असार १४, २०८१ १७:५८

सिधाकुरा डटकमका सम्पादक र प्रकाशक सहित तीन जना विरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौं । सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र ‘द डार्क फाइल’ श्रृंखलाका लागि अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई​ फरार प्रतिवादी बनाई​ बिहीवार जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे हाे । 

सिधाकुराले गत वैशाख १४ गते युट्युब च्यानल मार्फत ‘चार सय बढी भ्रष्टाचार मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ्ग अपरेशन’ शीर्षकमा डार्क फाइल नामकाे कार्यक्रम प्रसारण गरेकाे थियाे । यसमा अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीश समेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै कार्यक्रम प्रसारण गरिएको थियो । 

उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए ।

कुनै सत्यताको जाँच नगरी/नगराई सम्मानित सर्वोच्च अदालत र सो अदालतका न्यायाधीश तथा अन्य व्यक्ति र निकायप्रति समेत अदालतको मुद्दामा हुने कार्यविधि तथा सुनुवाइ र फैसलासँग जोडी गलत भिडिओ क्लिप प्रसारण गरी अपमानजनक कार्य समेतको कसुर गरेको पुष्टि हुन आएको उक्त अभियाेजनपत्रमा उल्लेख छ ।

‘‘...निज प्रतिवादीहरूले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर र अपमानजन व्यवहारको कसुरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (१) विपरीतको कसुर गरेको स-प्रमाण पुष्टि हुन आयो,’’ अभियाेजनपत्रमा भनिएकाे छ । 

उनीहरूविरूद्ध  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम सम्मानित अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएकाे छ । 

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यस्तै अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले प्रसारण गरेको अडिओ कृत्रिम रहेको निष्कर्ष निकालेको थियो ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १८:२८