close

रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भनेपछि बीबीसी स्पोर्ट्सलाई अनफलो गर्दै समर्थक

टेकपाना टेकपाना

असार १९, २०८१ १६:१८

रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भनेपछि बीबीसी स्पोर्ट्सलाई अनफलो गर्दै समर्थक

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका समर्थक बीबीसी स्पोर्ट्सको विभिन्न सामाजिक सञ्जालका अकाउन्टमाथि खनिएका छन् । युरो कप २०२४ अन्तर्गत सोमबार राति रोनाल्डोले स्लोभेनियासँगको खेलमा पेनाल्टी मिस गरेपछि बीबीसी स्पोर्ट्सले ‘मिस्टियानो पेनाल्डो’ लेखेको भन्दै समर्थक सामाजिक सञ्जालमा उत्तेजित भएका हुन् । 

अहिले तीनै समर्थकले बीबीसी स्पोर्ट्सको इन्स्टाग्राम अकाउन्ट र फेसबुक पेजमा अनफलो गर्ने अभियान थालेका छन् । बीबीसी स्पोर्ट्सले राखेका विभिन्न पोस्टमा कमेन्ट गर्दै रोनाल्डोका फ्यानले ती अकाउन्ट अनफलो गर्न अनुरोध गरेका छन् ।

नकआउट गेमको म्याच विश्लेषणका क्रममा सो भिडिओ रिप्ले गरेर देखाउँदा त्यसको तलपट्टि ‘मिस्टियानो पेनाल्डो’ लेखेको समर्थकहरूको आरोप छ । त्यसपश्चात चेल्सीका पूर्व कप्तान जोन टेरीले इन्स्टाग्राममा स्टोरी राख्दै बीबीसी ‘यो त अपमान भयो’ भनेर लेखेका थिए । त्यसपछि रोनाल्डोका समर्थकहरू बीबीसी स्पोर्ट्समाथि खनिएका हुन् । 

अहिले बीबीसी स्पोर्ट्सको फेसबुक पेज र इन्स्टाग्राम अकाउन्ट हेर्ने हो भने त्यहाँ राखिएका अधिकांश पोस्टमा समर्थकले आपत्ति जनाउँदै बहिष्कारको अभियान थालेका छन् । सामाजिक सञ्जाल एक्समा पनि बीबीसी स्पोर्ट्सको आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८१ १६:२८