close

अफलाइन राइडशेयरिङ प्रयोग गर्ने यात्रुको निधन, फरार ३ जना राइडर पक्राउ गरी ज्यान मुद्दा

टेकपाना टेकपाना

असार २४, २०८१ १७:५३

अफलाइन राइडशेयरिङ प्रयोग गर्ने यात्रुको निधन, फरार ३ जना राइडर पक्राउ गरी ज्यान मुद्दा

 

काठमाडौं । मोटरसाइकल दुर्घटना गरी फरार भएका तीन जना अफलाइन राइडर पक्राउ परेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शुक्रबार गोङ्गबुबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीय तेज रावल, २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी रहेका छन् । उनीहरू तीनै जनाको घर जुम्ला हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार १५ असार राति ९ः३५ बजे आरोपित रावल, धिताल र अधिकारी गोङ्गबुबाट हात्तीवन गइरहेका थिए । 

त्यतिकैमा उनीहरूले बाटोमा गोरखा घर भइ हाल हात्तीवन बस्दै आएकी ३५ वर्षीय अनु गुरुङलाई भेटाए । “उनीहरू कहिंबाट आउँदै थिए, कतै जानुपर्ने थियो,” प्रहरी उपरीक्षक अधिकारीले भने, “गोङ्गबुमा अनु गुरुङलाई भेटाए । आफू राइड शेयरिङको राइडर भएको बताउँदै गुरुङलाई जाने ठाउँबारे सोधखोज गरेर साथमा लिएर गए ।”

अनु गुरुङलाई प्रदेश नं ३-०२-००७ प ६६७९ नम्बरको पल्सरमा बसाएर तेज रावलले चलाइरहेका थिए । उनका अन्य दुई जना साथीहरू पछाडि आइरहेका थिए । त्यही क्रममा जमल कान्तिपथ स्थित होटेल यलो प्यागोडा अगाडि गुरुङ चढेको मोटरसाकल पल्टियो । पछाडिबाट तीव्र गतिमा आइरहेको पदम धितालले चलाएको मोटरसाइकलले अनु गुरुङलाई ठक्कर दियो ।

गुरुङलाई बाइकले ठक्कर दिएपछि उनी सडकमै ढलिन् । “यी तीन जनामध्ये पदम धितालसँग सवारी चालक अनुमति पत्र पनि छैन । उनी कुनै राइड शेयरिङ प्लेटफर्ममा पनि आबद्ध भएका छैनन्,” प्रहरी उपरीक्षक अधिकारीले भने, “अन्य दुई जना भने पठाओमा आबद्ध भई अफलाइन राइड गरेको देखिएको छ ।”

दुर्घटना भएसँगै पदम धिताल फरार भएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । त्यससँगै बाइक लिएर गएका सुरेश अधिकारीले घाइते भएका तेज रावललाई टिचिङ अस्पताल पुर्‍याए । त्यहाँ उनले घाइतेको नाम र मोबाइल नम्बर समेत गलत लेखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । “यता दुर्घटनामा घाइते भएकी अनु गरुङ नबाँच्ने ठानेर उनीहरूले गलत विवरण टिपाएका रहेछन्,” प्रहरी उपरीक्षक अधिकारीले थपे । 

दुर्घटनामा परेकी गुरुङलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले राष्ट्रिय ट्रमा सेन्टर पुऱ्यायो । त्यहीं उपचारका क्रममा १८ असारमा गुरुङको निधन भएको प्रहरी उपरीक्षक अधिकारीले सुनाए । यसरी अफलाइन राइड गरी दुर्घटना गराएको देखिएपछि प्रहरीले ‘अपरेसन अफलाइन हन्ट’ अनुसन्धान अगाडि बढाएको थियो । 

प्रहरी उपरीक्षक अधिकारीले भने, “यसरी अफलाइन चढ्दा धेरै समस्या हुन्छन् । कसैले दुर्घटना गरायो वा ठगी गर्‍यो भने अनुसन्धान गर्न प्रहरीलाई पनि गाह्रो, यात्रुलाई पनि जोखिम । त्यसबाहेक बीमा पनि दाबी गर्न सकिंदैन । र, यस्तै अन्य थुप्रै चुनौती छन् ।”

प्रहरी उपरीक्षक अधिकारीले यात्रा गर्दा आधिकारिक प्लेटफर्मबाट आधिकारिक राइडर छनोट गरेर मात्र यात्रा गर्न सुझाव दिए । पक्राउ परेका तीन जनामाथि सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८१ १७:५३