काठमाडौं । स्पेनको एक विद्यालयका विद्यार्थीहरूले एआईको सहायताले आफ्नै कक्षाका महिला साथीको अश्लील फोटो बनाएर सार्वजनिक गर्ने गरेको घटना बाहिर आएको छ । उक्त घटना बाहिरिएपछि स्पेनको अलमेन्द्रालेखो अदालतले १५ विद्यार्थीलाई एक वर्षसम्म एआई तस्वीर बनाउन नदिने गरी प्रतिबन्ध लगाएको छ । यस घटनामा १३ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी संलग्न भएको स्थानीय प्रहरीले जनाएको छ ।
विद्यार्थीले ह्वाट्सएप ग्रुपमा डिपफेक प्रविधिको सहायताले अश्लील फोटो तयार पारी सार्वजनिक गर्न थालेपछि अभिभावकमा त्रास पैदा भएको छ । त्यही विषयले नै अहिले स्पेनमा डिपफेक प्रविधिको असरबारे बहस सिर्जना गरेको छ ।
विद्यार्थीहरूले यही जुलाईदेखि अश्लील फोटो सार्वजनिक गर्न थालेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो घटनापछि पीडित विद्यार्थीमा ‘एन्जाइटी’ समस्या देखिएको छ ।
रोयटर्ससँग कुरा गर्दै एक पीडित विद्यार्थीकी आमाले भनिन्, “मेरी छोरीले यो घटना कसैलाई पनि भनेकी थिइनन् । त्यसले गर्दा उनलाई एन्जाइटी भयो । यो निकै डरलाग्दो अवस्था हो ।”
त्यस्तै अर्की पीडित विद्यार्थीकी आमाले द गार्जियनसँग कुरा गर्दै फोटो दुरुस्त देखिने भएकाले त्यसले थप चुनौती सिर्जना गर्ने बताइन् । उनले भनिन्, “एआईले बनाएको तस्वीर दुरुस्तै देखिने रहेछ । मेरो छोरीको शरीर कस्तो छ मलाई थाहा छैन । तर, झट्ट फोटो हेर्दा यो मेरै छोरीको फोटो हो जस्तो मलाई लाग्यो ।”
उक्त घटनामा संलग्न विद्यार्थीलाई सजायका रूपमा लैङ्गिक समानता जागरुकता सम्बन्धी कक्षा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था अदालतले गरेको छ । त्यसबाहेक उनीहरूले अनिवार्य रूपमा प्रविधिलाई कसरी सही ढङ्गले प्रयोग गर्ने भन्ने विषयको कक्षा लिनुपर्ने भएको छ ।
त्यसबाहेक विद्यालयले कक्षामा यौन शिक्षाको बारेमा पनि सिकाउनुपर्ने बहस उठिरहेको छ । सो घटनामा संलग्न अधिकांश विद्यार्थी १४ वर्षभन्दा कम उमेर समूहको भएकाले उनीहरूलाई सजाय दिने व्यवस्था स्पेनको कानुनमा छैन । त्यसैले उनीहरूलाई रिह्याभ (पुनर्स्थापना) का लागि बाल सुरक्षा सेवा कार्यालयहरूमा पठाउने तयारी गरिएको छ ।