काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा युट्यबको जस्तै डिसलाइक बटन आउने भएको छ । मन नपरेका पोस्टमा प्रतिक्रिया जनाउ दिन कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।
एक्समा आउने डाउनभोटिङ फिचरले कुराकानीहरूका क्रममा आउने रिप्लाइलाई क्रमबद्ध गर्ने तरिका सुधार्न प्रयोग हुने बताइएको छ । त्यस्तै यसको आइकन पनि अलि फरक हुने छ । यसका लागि ‘एक्स ब्रोकन हर्ट’ (मुटु टुक्रिए जस्तै) आइकन प्रयोग गर्ने बताइएको छ ।
यद्यपि मस्कले अधिग्रहण गर्नुअघि नै कम्पनीले सन् २०२१ मा नै डाउनभोटिङको परीक्षण गरेको थियो । तर त्यसबेला हरेक पोस्टका लागि अपभोटिङ र डाउनभोटिङको परीक्षण गरिएको थियो । अहिले भने रिप्लाइमात्र लागु हुने गरी डाउनभोटिङको परीक्षण भइरहेको छ ।
यसले लामा-लामा थ्रेड्समा राम्रा उत्तरलाई माथिल्लो भागमा ल्याउन सहयोग पुर्याउन सजिलो हुने बताइएको छ । तर, एक्सले कहिलेदेखि यो फिचर उपलब्ध हुन्छ भन्ने कुरा आधिकारिक रुपमा खुलाएको छैन ।
रिभर्स इन्जिनियर आरोन पेरिसले उक्त आइकन कस्तो हुन्छ भनेर एक्समा एक पोस्ट गर्दै जानकारी दिएका छन् ।