close

सामाजिक सञ्जालमा क्रिकेट फ्यानले साथ दिँदा नेपालले जित्यो आईसीसी अवार्ड

टेकपाना टेकपाना

साउन २, २०८१ १८:२८

सामाजिक सञ्जालमा क्रिकेट फ्यानले साथ दिँदा नेपालले जित्यो आईसीसी अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड जितेको छ । एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि छानिएको नेपालले सबै देशलाई पछि पार्दै यो अवार्ड जितेको हो ।

अवार्ड जितेपछि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्यानले क्रिकेट समर्थकप्रति आभार प्रकट गरेको छ । फेसबुक च्यानलबाट वर्षभर ४०० प्रतिशतले फ्यानबेस बढेको भन्दै नेपालले यो अवार्ड पाएको बताइएको छ ।

“यो सम्मानले हाम्रा फ्यानहरू लगायत हाम्रा सम्पूर्ण क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गरेको छ, जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,”  क्यानका सचिव पारस खड्काले भने, “महिला र पुरुष दुवै क्रिकेट खेललाई प्रवर्द्धन गरेर, हामी नेपालमा जीवन्त र समावेशी क्रिकेट संस्कृति सिर्जना गर्ने प्रयास गरिरहेका छौं ।”

क्यानको डिजिटल रणनीतिले समर्थकलाई खेल नजिक पुर्‍याएको खड्काले सुनाए । 

आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न छ देशलाई छ प्रकारका अवार्ड प्रदान गरेको छ । ओमान, मेक्सिको, नेदरल्यान्ड, यूएई, स्कटल्यान्ड जस्ता क्रिकेटमा उदाइरहेका राष्ट्रले पनि विभिन्न विधामा अवार्ड पाएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २, २०८१ १९:७