काठमाडौं । स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि छिट्टै ‘सुसाइड पड’ प्रयोगमा ल्याउने भएको छ । ‘स्याक्रो’ (Sacro) नामको थ्रीडी प्रिन्टेड पोर्टेबल सुसाइड पड अबको केही महिनामै प्रयोगमा ल्याइने भएको हो ।
‘गम्भीर शारीरिक रोग’ भएका व्यक्तिहरूलाई इच्छामृत्यु सेवा दिने उद्देश्यले स्थापना भएको द लास्ट रिसोर्टका संस्थापक फ्लोरियन विलेटले यो डिभाइस छिट्टै प्रयोगमा आउने बताएका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वमै पहिलो पटक यो डिभाइस प्रयोग गर्न लागेको जानकारी दिए ।
यदि कसैले इच्छामृत्यु चाह्यो भने १८ स्वीस फ्रान्क (करिब दुई हजार ६६० रुपैयाँ) पर्ने बताइएको छ ।
यसो त यो डिभाइस सन् २०१९ मै सार्वजनिक भएको थियो । तर, चिकित्सा पर्यवेक्षण बिनै मान्छे आफूले चाहेर मर्न पाउनु हुँदैन भन्दै यसको चर्को विरोध भएको थियो ।
यस पडको च्याम्बरमा नाइट्रोजन ग्यास भरिएको हुन्छ । इच्छामृत्यु चाहने व्यक्तिलाई यसभित्र राखेर बटन थिचिसकेपछि विस्तारै अक्सिजनको मात्रा घट्दै जान्छ । र, मान्छे चेत घट्दै जान्छ । त्यसको १० मिनेटभित्र मान्छे मरिसक्छ ।
सन् १९४० कै दशकदेखि स्वीजरल्यान्डले ‘असिस्टेड सुसाइड’ (कसैलाई आत्महत्या गर्न सघाउने काम) लाई कानूनी मान्यता दिएको थियो । त्यसको परिणाम स्वीजरल्यान्ड ‘डेथ टुरिजम’ (मृत्यु पर्यटन) गन्तव्यका लागि परिचित बन्यो । रोर्यटर्सका अनुसार ‘असिस्टेड डेथ’को फाइदा लिन मानिसहरू स्वीजरल्यान्ड जान थालेका थिए ।
सुसाइड पडले मान्छेलाई पीडा नहुने गरी आनन्दले मर्न सघाउने बताइएको छ ।
अष्ट्रेलियाली फिजिसियन डा. फिलिप नित्स्केले १२ वर्ष लगाएर यो डिभाइस नेदरल्यान्डमा विकास गरेका हुन् । यसका लागि करिब सात लाख १० हजार डलर खर्च भएको बताइएको छ ।
सुसाइड पडले कसरी काम गर्छ ?
यसमा सबैभन्दा पहिले मान्छेलाई आरामले पल्टाइन्छ । त्यसपछि त्यहाँ क्रमशः अक्सिजनको स्तर घट्दै जान्छ । र, मान्छे विस्तारै अचेत अवस्थामा पुग्छ ।
मान्छेलाई इच्छामृत्यु दिनका लागि त्यहाँ अक्सिजन तह, हृदयको गति, ब्लड अक्सिजन स्याचुरेसन आदि निगरानी गरिएको हुन्छ । एक पटक डिभाइसलाई एक्टिभेट गरियो भने मान्छेलाई चाहेर पनि बचाउन सकिंदैन ।