काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले अत्याधुनिक प्रविधि वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा बढी उच्च गतिको इन्टरनेट सेवा दिने दाबी गर्दै चौधरी ग्रुप अन्तर्गतको कम्पनीले वाई-फाई सिक्स ल्याएको हो ।
यसबाट एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्ताले कम जोखिम र उच्च गतिको इन्टरनेट सेवा चलाउन सक्ने कम्पनीले जनाएको छ । सीजी नेटका अनुसार हाललाई यो प्रविधिमा आधारित सेवा काठमाडौं उपत्यका बाहिर पहुँच पुगेका स्थानहरूमा समेत उपलब्ध हुनेछ ।
विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा ११ साउनसम्म यो प्रविधि नि: शुल्क उपलब्ध हुनेछ । सीजी नेटका अनुसार बाँकी ग्राहकहरूले ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४४९ र आईपी टिभी सहित ६६७ एमबीपीएस इन्टरनेट २३ हजार ७०१ रुपैयाँ तिरेर जडान गर्न सक्नेछन् ।
यो प्रविधिले आफ्ना ग्राहक तथा नेपालीलाई विश्वव्यापी प्रविधिको अग्र भागमा पुर्याउने कम्पनीको दाबी छ । यसबारे थप जानकारी लिन सीजी नेटको वेबसाइट अथवा कम्पनीको ग्राहक सेवा प्रतिनिधिसँग सिधै सम्पर्क गर्न सकिनेछ ।