भायानेटको वाई-फाई सिक्स इन्टरनेट र भायाटिभीमा नयाँ अफर, विश्वकप फुटबल हेर्न कुपनकाे व्यवस्था
जेठ २०, २०८३ १०:३१
काठमाडौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले 'वाई-फाई सिक्स' प्रविधिको २५० एमबीपीएस इन्टरनेट प्याकेजसहित भायाटिभीमा नयाँ अफर ल्याएको छ । साथै, कम्पनीले डामी एपसँग सहकार्य गरी एक वर्षको निःशुल्क सदस्यता र फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन खरिद गर्न सकिने सुविधा पनि सार्वजनिक गरेको छ ।
भायानेटले वाई-फाई सिक्स प्रविधिसहितको २५० एमबीपीएस इन्टरनेट प्याकेजमा २ हजार ८२५ रूपैयाँ पर्ने वाई-फाई सिक्स ओएनयू जडान शुल्क हटाइएको जानकारी गराएको छ । अब १ हजार रूपैयाँ डिपोजिट मात्र तिर्नुपर्नेछ । कम्पनीले वार्षिक १३ हजार ८०० (करसहित) रूपैयाँमा उक्त इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।
यससँगै प्रतिमहिना २५० रूपैयाँमा भायाटिभी सेवा थप गर्न सकिने भएको छ । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी रोक्न तथा पुनः प्ले गर्न मिल्ने फिचर, कार्यक्रम तालिका, चलचित्र र सिरिज जस्ता मनोरञ्जन सामग्री उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । साथै, भायाटिभीको वार्षिक प्याकेज लिनेलाई पहिलो सेट-टप-बक्सको २ हजार २६० रूपैयाँ सक्रिय शुल्कमा छुट दिने भएको छ । यसमा १ हजार रूपैयाँ डिपोजिट मात्र लिइने भएको हो ।
यता, भायानेटले डामी एपसँग सहकार्य गरी वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूलाई १५ सय बराबरको १ वर्षे डामी एप सदस्यता पनि निःशुल्क दिने भएको छ । यस एपमार्फत काठमाडौँ, पोखरा र चितवनका प्रयोगकर्ताले रेस्टुरेन्ट, कपडा पसल, सैलुन लगायतका सेवामा छुट पाउन सक्नेछन् । यसैगरी, भायाटिभी प्रयोगकर्ताहरूले फुटबल विश्वकप २०२६ हेर्नका लागि आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । नेपालमा विश्वकप प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ ।
हिमालय टिभीले तोकेको दरअनुसार प्रतिटिभी ९९९ रूपैयाँमा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा विश्वकप खेलहरू हेर्न सकिने कम्पनीले जानकारी गराएको छ । ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी एपमार्फत “भायानेट” खोजी गरेर भायानेटको ग्राहक आईडी राखी कुपन खरिद गर्न सकिनेछ ।
भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ र एकपटक सक्रिय गरेपछि अर्को टिभीमा सार्न मिल्नेछैन ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १०:३५
