काडमाडौं । छ हजार एमएएच क्षमताको ब्याट्री, राम्रो लुक्स, डुअल स्टेरियो स्पिकर, यूआई कस्टमाइजेसनका विविध विकल्पसहितको फोन हो, भिभो वाई सिरिजको नयाँ स्मार्टफोन भिभो वाई २८ । जसको मूल्य नेपाली बजारमा २४ हजार ९९९ रुपैयाँ रहेको छ । केही समय अगाडि मात्र सार्वजनिक भएको यो फोनको ब्याक प्यानल आकर्षक छ, जसलाई म्याट फिनिस दिइएको छ । यसले गर्दा फोनको ब्याक प्यानलमा औँलाका छापहरू बस्दैनन् । प्रायः भिभो फोनको लुक्स आकर्षक नै हुने गर्छ । भिभो वाई २८ कै कुरा गर्ने हो भने पनि यो फोन हलुका र आकर्षत दुवै छ ।
यो फोन अर्को ग्लिमिङ अरेन्ज (Gleaming Orange) कलरमा पनि उपलब्ध छ । फोनको पछाडि भागमा डुअल क्यामेरा सेटअपसहित एउटा फ्ल्याश र अर्को डाइनामिक लाइट पनि देख्न सकिन्छ । कम्पनीले फोनमा पन्च होल डिस्प्ले उपलब्ध गराएको छ । फोनको साइडमा भोलुम बटन र फिंगरप्रिन्ट सेन्सरसँगै पावर बटन छ । फोनको देब्रे तर्फ सिमकार्ड ट्रे छ, जहाँ दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी कार्डको स्पेस दिइएको छ । यस्तै फोनको तलपट्टि अडिओ ज्याक पोर्ट, यूएसबी पोर्ट, माइक्रोफोन र स्पिकर पाउन सकिन्छ ।
फोनमा ९० हर्जसहितको ६.६८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । जसको ब्राइटनेस भने एक हजार निट्ससम्म रहेको छ । फोनमा बेजल्स पनि खासै छैन, तर फोनको तलपट्टि अरू भागकाे तुलनामा अलिकति धेरै देखिन्छ ।
फोनको क्यामेराको कुरा गर्ने हो भने यसमा डुअल क्यामेरा सेटअप दिइएको छ, जहाँ मुख्य क्यामेरा ५० मेगापिक्सेल र डेप्थ सेन्सर २ मेगापिक्सेलको रहेको छ । फोनको अगाडि भागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ । फोटोको गुणस्तरको कुरा गर्नु पर्दा प्रकाश पर्याप्त भएको खण्डमा फोटो राम्रै आउँछ । तर प्रकाश राम्रोसँग नपुगेको खण्डमा भने यसबाट कामचलाउ फोटोको मात्र अपेक्षा गर्न सकिन्छ । यसबाट खिचिएको पोट्रेट फोटो यहाँ हेर्न सक्नु हुन्छ ।
क्यामेरामा फिल्टर, लाइट इफेक्ट पनि प्रयोग गर्न मिल्छ भने यसमा फोटो, भिडिओ, पोट्रेटसँगै नाइट, टाइमल्याप्स, स्लोमो जस्ता अन्य फिचर पनि छन् । फ्रन्ट क्यामेराको गुणस्तर पनि राम्रै छ । सामान्य सेल्फी खिच्दा पनि फिल्टर, लाइट इफेक्ट प्रयोग गर्न मिल्छ भने पोट्रेटमा भने ब्युटी र पोस्चर्स मिलाएर फोटो खिच्न मिल्ने सुविधा पनि छ । तपाईंले कस्तो प्रकारको पोट्रेट खिच्ने, सोही प्रकारको पोस्चर क्यामेराबाट छानेर आफ्नो फोटो त्यस्तै आउने गरी खिच्न सक्नुहुन्छ । यस्तै ब्युटीबाट भने छालाको रंग मिलाउने, अनुहारको आकार मिलाउने लगायतका काम गर्न सकिन्छ ।
भिडिओको कुरा गर्ने हो भने यो फोनबाट ३० एफपीएसमा १०८० पिक्सेलसम्मको खिच्न सकिन्छ । भिडिओको गुणस्तर भने फोनको मूल्य अनुसार राम्रै भन्नु पर्छ, तर भिडिओमा स्टेबलाइजेसन पनि त्यति राम्रो छैन ।
फोनको ब्याट्रीको विषयमा कुरा गर्नु पर्दा यसमा छ हजार एमएएच क्षमताको ब्याट्री छ । भिभोको फोनमा पहिलो पटक ६ हजार एमएएच क्षमताको ब्याट्री भएको फोन यही भएको कम्पनीको भनाई छ । फोनको ब्याट्री चार्ज गर्न ४४ वाटको एडप्टर उपलब्ध गराइएको छ । त्यतिमात्र नभएर यस फोनको ब्याट्री हेल्थमा चार वर्षको वारेन्टी पनि दिइएको छ । अर्थात् १६०० चार्जिङ साइकल रहेको फोनको ब्याट्री चार वर्षसम्म निर्धक्क चलाउँदा पनि ८० प्रतिशत ब्याट्री हेल्थ बाँकी रहने कम्पनीको भनाइ छ । जुन यो फोनको एउटा सबल पक्ष हो । मलाई भने फोन फुल चार्ज गर्न एक घण्टा ४० मिनेट जति लागेको थियो । यसबाट सामान्य प्रयोगमा दुई दिन जति मज्जाले टिक्छ ।
फोनको पर्फमेन्सको कुरा गर्ने हो भने एन्ड्रोइड १४ मा आधारित यो फोनमा भिभोको आफ्नै फनटच ओएस १४ पाउन सकिन्छ । प्रोससरमा भने यसमा मिडियाटेक हेलियो जी८५ दिइएको छ । जुन चार वर्ष अगाडि सार्वजनिक भएको थियो । सामान्य तरिकाले फोन प्रयोग गर्न, सामाजिक सञ्जाल चलाउन, भिडिओ हेर्न, सामान्य गेम खेल्न यो प्रोसेसरले राम्रै साथ दिन्छ । तर धेरै हेभी टास्क भने यसमा नगर्दा नै ठिक हुन्छ । फोनको यूआई पनि प्रयोगकर्तामैत्री नै छ ।
अब लागौं फोनको अर्को रोचक पक्ष तर्फ, जुन हो यसमा भएको कस्टमाइजेसनका फिचरहरू । यदि तपाईं फोनको डाइनामिक इफेक्टमा जानुहुन्छ भने त्यहाँ तपाईंले चार्जिङ एनिमेसन, फेस रिकग्निसन एनिमेसन, र अरू धेरै कुरा कस्टमाइज गर्न मिल्ने अप्सन पाउन सक्नु हुन्छ । फोनकाे अर्काे रोचक पक्ष भनेको डाइनामिक लाइट हो । फोनको पछाडि रिङ जस्तो देखिने लाइटलाई इनेबल गरेर कस्टमाइज गर्न सकिन्छ । जस्तो कि फोन आउँदा, नोटिफिकेसन आउँदा वा गीत सुन्दा फरक फरक प्याटर्नबाट यहाँ बत्ति बल्छ । यस्तो हुँदा कुनै महत्त्वपूर्ण एपको मेसेज नछुटोस् भन्ने चाहनुहुन्छ अथवा डेडिकेटेड एप वा सम्पर्क नम्बरको लागि मात्र पनि तपाईंले यो फिचर सेट गर्न सक्नुहुन्छ । एकचोटिमै धेरै काम गर्नको लागि भने यसमा स्प्लिट स्क्रिन, स्मल विन्डो, स्मल साइडबार जस्ता विशेषताहरू पनि छन्, जसले तपाईंलाई फोन चलाउन सहज बनाउँछ ।
फोनको अर्को राम्रो पक्ष भनेको यसमा भएको डुअल स्टेरिओ स्पिकर हो । सामान्यतया हामी यत्तिको मूल्यमा आउने फोनमा मोनो स्पिकर पाइराखेका हुन्छौं । तर यसमा त डुअल स्टेरिओ स्पिकर नै छ, त्यो पनि ३०० प्रतिशत भोलुम बुस्टर सहित । यसले गर्दा फोनको अडिओ गुणस्तर भने राम्रो लाग्यो ।
कनेक्टिभिटिको लागि फोनले डुअल ब्यान्ड वाईफाई सपोर्ट गर्छ भने फोनमा ब्लुटुथ भर्सन ५ पाउन सकिन्छ । सुरक्षाको हिसाबले फोनमा पिन, पासवर्ड, फिङ्गरप्रिरन्ट, फेसलक जस्ता फिचर दिइएका छन् । साथै फोनले पानी तथा धुलो प्रतिरोधात्मक हुनका लागि आईपी ६४ रेटिङ पाएको छ ।
स्टोरेजको कुरा गर्नु पर्दा भिभो वाई २८ मा आठ जीबी एलपीडीडीआरफोरएक्स (LPDDR4X RAM) र्याम छ, जसलाई भर्चुल रूपमा १६ जीबीसम्मको बनाउन मिल्छ । त्यसैगरी ईएमएमसी ५.१ मा आधारित १२८ जीबी आन्तरिक स्टोरेज यसमा पाउन सकिन्छ । फोनको अर्को भेरियन्ट भने आठ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेजमा रहेको छ, जसको मूल्य नेपाली बजारमा २६ हजार ९९९ रुपैयाँ पर्छ ।