close

मेसेन्जरमा स्क्रिनशट लिँदा अर्को व्यक्तिले थाहा पाउने कहिले बनाउला फेसबुक ?

टेकपाना टेकपाना

साउन ८, २०८१ १६:२९

मेसेन्जरमा स्क्रिनशट लिँदा अर्को व्यक्तिले थाहा पाउने कहिले बनाउला फेसबुक ?

काठमाडौं । हामीलाई विभिन्न कारणले फेसबुक मेसेन्जरमा भएको कुराकानी सेभ गरेर राख्नुपर्ने हुन्छ । तर, स्क्रिनशट लिएर मेसेज सेभ गर्दा डराइरहेका हुन्छौं । खासगरी यता तपाईंले स्क्रिनशट लिइरहँदा उता फेसबुकले अर्को व्यक्तिलाई तपाईंले स्क्रिनशट लिएको जानकारी दियो भने ?

तर, फेसबुकले मेसेजको स्क्रिनशट लिएको जानकारी बिरलै दिन्छ । त्यसैले कस्तो अवस्थामा जानकारी दिन्छ भन्ने थाहा पाउनुभयो भने निर्धक्क मेसेजको स्क्रिनशट लिन सक्नुहुन्छ । फेसबुक मेसेन्जरमा स्न्यापच्याट जस्तो स्क्रिनशट लिंदा नोटिफिकेसन जाने भन्ने हुँदैन । तर, केही अवस्थामा भने स्क्रिनशट गरेको नोटिफिकेसन जान्छ ।

स्क्रिनशट लिएको थाहा दिने डिसेपियरिङ मेसेज फिचर !

हुन त अहिले फेसबुक मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन डिफल्ट भएको छ । भन्नुको अर्थ तपाईंले जसलाई मेसेन्जरमा मेसेज पठाउनु भएको छ, त्यो व्यक्ति बाहेक अर्को पक्षले त्यस्तो मेसेज देख्न पाउँदैन । मेसेज पठाउने र पाउने व्यक्तिमा मात्र सीमित हुने भए पनि यदि त्यसमध्ये एक जना कसैले मेसेज अर्कोलाई पठाउनु पर्‍यो भने स्क्रिनशट चाहिं लिन सक्छ । 

तपाईंले अर्को व्यक्तिले आफूहरूबीच भएको कुराको स्क्रिनशट लिए आफूलाई जानकारी होस् भन्ने चाहनुभयो भने हाललाई डिसेपियरिङ मेसेज फिचर प्रयोग गर्न सक्नुहुन्छ । यो फिचर प्रयोग गर्दा कुनै एउटा व्यक्तिले स्क्रिनशट लिए दुवैलाई थाहा हुन्छ । त्यस्तो मेसेज २४ घण्टामा स्वतः हराउने किसिमको हुन्छ । 

त्यस्तै कसैले उक्त डिसेपियरिङ च्याटको स्क्रिनरेकर्ड गर्न लाग्यो भने पनि त्यसको जानकारी दुवै पक्षलाई जान्छ । 

मेसेन्जरमा कसरी अन गर्ने डिसेपियरिङ मेसेज ?

मेसेन्जरमा डिसेपियरिङ मेसेज फिचर प्रयोग गरि च्याट गर्न तलका प्रक्रिया अपनाउनुहोस्: 

  • सबैभन्दा पहिले मेसेन्जरमा तपाईंले जोसँग डिसेपियरिङ मेसेज गर्न चाहनु भएको छ, उसको च्याटबक्स खोल्नुहोस् । 

  • अनि माथि दायाँपट्टि रहेको आई (i) आइकनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि त्यहाँ रहेको डिसेपियरिङ मेसेजेज (Disappearing messages) को अप्सन ट्याप गर्नुहोस् । 

  • र,  २४ आवर्स (24 hours) को अप्सन छान्नुहोस् । अनि, पुनः च्याटमा फिर्ता आउनुहोस् । 

यदि यो फिचर बन्द गर्न चाहे पहिले जस्तै डिसेपियरिङ मेसेजको अप्सनमा गएर अफ (Off) को अप्सन छान्न सक्नुहुन्छ । 

के कुनै सेटिङ नमिएको च्याटको स्क्रिनशट लिंदा फेसबुकले अर्को व्यक्तिलाई त्यसको जानकारी दिन्छ ?

सामान्य च्याटमा स्क्रिनशट लिइयो, स्क्रिन रेकर्ड गरियो भने फेसबुकले अर्को व्यक्तिलाई त्यसको जानकारी दिंदैन ।

तपाईंले डिसेपियरिङ मोड अन गर्नु भएको छ भने मात्र स्क्रिनशट गरेको सूचना जान्छ । त्यसबाहेक तपाईंले जुनसुकै पोस्ट, लाइक, फोटो जुन कुराको स्क्रिनशट लिए पनि अर्को पक्षलाई त्यसको जानकारी जाँदैन ।

अर्कोले मेसेन्जरमा च्याटको स्क्रिनशट लिनै नमिल्ने बनाउन सकिंदैन ?

फेसबुकमा जसले मेसेज पाएको छ, उसलाई स्क्रिनशट गर्नबाट रोक्ने त्यसको कुनै फिचर छैन । कतिपय डिभाइसले भने तपाईंले डिसेपियरिङ मेसेजमा कुरा गरिरहनु भएको छ भने त्यसको स्क्रिनशट लिन नमिल्ने बनाएका हुन्छन् । तर, यो डिभाइसको फिचर हो । त्यसैले तपाईं वा तपाईंले जसलाई मेसेज पठाउनु भयो त्यो व्यक्तिको डिभाइसमा यस्तो फिचर नहुन सक्छ ।

गोप्य रूपमा च्याट गर्न सकिने जे जति फिचर भए तपाईं मेसेन्जरमा तपाईंले कुरा गर्दा संवेदनशील हुनुपर्छ । तपाईंलाई जे कुरा बाहिर नआओस् भन्ने लाग्छ, त्यो कुरा मेसेन्जरमा अर्को व्यक्तिसँग नगर्दै फाइदा हुन्छ । इन्टरनेट सार्वजनिक स्थान जस्तै हो । त्यसैले इन्टरनेटका माध्यमबाट पठाइएको संवेदनशील जानकारी, फोटो वा भिडिओ सधैं गोप्य नहुन सक्छन् । 

प्रायः मेसेजिङ प्लेटफर्मले दुई प्रयोगकर्ताबीच भएका कुरा तेस्रो पक्षले थाहा नपाउने फिचर (इन्ड-टु-इन्ड) लाई आत्मसात गर्दै गइरहेका छन् । तर, स्क्रिनशट गर्न नमिल्ने किसिमको फिचर ल्याउन ती प्लेटफर्मलाई अहिलेको अवस्थामा गाह्रो छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ १६:४४