काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आगामी साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने समिटको मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” रहेको छ ।
यसअन्तर्गत बीटूबी व्यापारको भविष्यबारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे प्यानल छलफल, आर्टिफिसियल इन्टेलिजेन्स विषयमा वर्कशपका साथै नवीनतम बीटूबी समाधानहरूको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने अध्यक्ष पोदारको भनाइ छ ।
कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका ४५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिहरूलाई अन्य व्यावसायिक संस्था र व्यक्तिहरूसँग परिचित हुने अवसर मिल्ने उनले जनाए ।
उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीका लागि आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्र र बजारमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।