close

नेपाली विद्यार्थीले बनाएका रोबोटिक्स, एआई र साइबर सुरक्षा सम्बन्धी प्रविधि प्रदर्शनी हुँदै

टेकपाना टेकपाना

साउन १२, २०८१ ८:२३

नेपाली विद्यार्थीले बनाएका रोबोटिक्स, एआई र साइबर सुरक्षा सम्बन्धी प्रविधि प्रदर्शनी हुँदै

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी 'टेक एक्स २०२४' आयोजना गर्ने भएको छ । १५ देखि २० साउनसम्म कलेजको आफ्नै प्राङ्गणमा हुने प्रदर्शनीमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू देखाइने छ ।

यसअन्तर्गत एआई रोबोटिक टिचर, बैंकिङ रोबोट, टुर गाइड रोबोट, रोबोट फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वार लगायतका ३० भन्दा बढी रचनात्मक परियोजनाहरू प्रदर्शनी गरिने कलेजले जनाएको छ ।

त्यस्तै रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट सम्बन्धी असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्ध स्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ ।

प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ को समेत आयोजना गरिने कलेजको भनाइ छ । उक्त लिगमा ४० भन्दा बढी रोबोटहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुनेछन् । जुन छ महिनासम्म चल्ने कलेजले बताएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समयमा आईटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । साथै आईटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा फूड स्टल तथा बौद्धिक खेलहरूपनि समावेश हुनेछन् । यसका साथै प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव पनि लिन सकिने छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८१ ८:२३