close

एउटै घरमा बहालमा बस्नेले आमापछि बाथरुममा नुहाउँदै गरेकी छोरीको नग्न भिडिओ बनाउन खोज्दा...

टेकपाना टेकपाना

साउन १५, २०८१ २१:४३

एउटै घरमा बहालमा बस्नेले आमापछि बाथरुममा नुहाउँदै गरेकी छोरीको नग्न भिडिओ बनाउन खोज्दा...

काठमाडौं । एक दिन बिहान पख दीक्षा (परिवर्तित नाम) शौचालयबाट चिच्याउँदै बाहिर निस्किन्छिन् । त्यसको केही समयअघि मात्र उनी शौचालयमा नुहाउन गएकी थिइन् ।

"लौ के भयो ?" भन्दै उनकी आमा हतारिँदै कोठाबाट बाहिर निस्किइन् । सोही घरको अर्को कोठामा बहालमा बस्ने नेक मोहम्मद मिया पनि बत्तिदै सँगैको अर्को शौचालयबाट निस्किएर आफ्नो कोठातर्फ गइरहेका थिए ।

वास्तवमा दीक्षा नुहाउँदै गर्दा सँगै जोडिएको अर्को शौचालयको झ्यालबाट मियाले मोबाइलबाट भिडिओ खिच्ने प्रयासमा थिए । आफ्नो नग्न भिडिओ बनाएको शङ्का लागेपछि उनी चिच्याउँदै बाहिर निस्किएकी थिइन् । यो मामिला प्रहरीसम्म पुग्यो ।

२९ वैशाख २०८१ को मितिमा काठमाडौं १६, नयाँ बजारमा घटेको यो घटनापछि मिया तत्काल पक्राउ परे । पीडित किशोरी परिवारका अन्य सदस्यसहित प्रहरी कार्यालयमा गइन् । अनुसन्धानमा खटिएका प्रहरीले मियाको मोबाइल खोलेर चेकजाँच गरे ।

तर उक्त मोबाइलमा दीक्षा नुहाउँदै गरेको नग्न फोटो र भिडिओ केही भेटिएन र दुवै पक्षको सहमतिमा मिया सोही दिन थुना मुक्त भए । प्रहरी कार्यालयबाट बाहिर आइसकेपछि पीडित किशोरीका दाइ रोहित (नाम परिवर्तन)ले पछि फिर्ता गर्ने सहमतिमा मियाको मोबाइल मागे ।

घरमा पुगेपछि उक्त मोबाइलमा फाइल रिकभरी-अल रिकभरी नामक सफ्टवेयर डाउनलोड गरी उनी उक्त मोबाइलबाट डिलिट भएका सम्पूर्ण फोटो तथा भिडिओ हेर्न थाले । नभन्दै त्यसमा नग्न भिडिओ पनि भेटियो । तर उक्त नग्न भिडिओ दीक्षाको नभई उनकी आमाको थियो ।

कुनै दिन सोही शौचालयमा नुहाउँदै गर्दा मियाले सँगैको अर्को शौचालयबाट दीक्षाकी आमाको नग्न भिडिओ खिच्न भ्याएका थिए । प्रहरीको घटना स्थल मुचुल्का अनुसार दुवै शौचालयको बीचमा झ्याल जस्तो खाली भाग रहेको छ । उक्त खाली भाग चामलको खाली बोराले छेकिएको छ । सोही बोराको आडमा मियाले नग्न फोटो तथा भिडिओ खिचेका थिए । 

आइतबार मात्रै जिल्ला सरकारी वकिलको कार्यालयले मिया विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तर, पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ घर भएका मिया भने अहिले फरार छन् ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२१ को उपदफा १ (क) बमोजिमको कसुर लगाइएको छ । जसमा शारीरिक कामोत्तेजना बढाउने वा काम वासना आशक्त गराउने वा चरित्रहीन बनाउने कुुनै अश्लील किताब, पर्चा, रेखा चित्र, तस्विर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न नहुने भनिएको छ ।

उक्त कसुर ठहर भएको खण्डमा मियामाथि एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्छ ।

 

पछिल्लो अध्यावधिक: साउन १५, २०८१ २१:४३