close

खल्तीबाट पनि दैनिक तीन पटक बढी १०० रुपैयाँमाथिको कारोबार गर्दा १० रुपैयाँ सेवाशुल्क लाग्ने*

टेकपाना टेकपाना

साउन १७, २०८१ १४:३३

खल्तीबाट पनि दैनिक तीन पटक बढी १०० रुपैयाँमाथिको कारोबार गर्दा १० रुपैयाँ सेवाशुल्क लाग्ने*

काठमाडौं । डिजिटल वालेट खल्तीले पनि दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था सुरु भएको जानकारी दिएको हो ।

नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले जनाएको छ । 

“यही मिति २०८१ साउन १७ बाट लागु हुनेगरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,” कम्पनीले सूचनामा लेखेको छ । 

यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ । अर्कोतर्फ एक महिनामा कुल ३० पटकमात्रै १०० रुपैयाँमाथिको रकम बिना सेवाशुल्क पठाउन सकिनेछ । 

खल्ती प्रयोगकर्ताले मर्चेन्टमा भुक्तानी गर्दा भने कुनै किसिमको अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

ईसेवा, खल्ती लगायतका वालेटले आजदेखि नयाँ स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क कार्यान्वयनमा ल्याए पनि आइएमई पे लगायतका वालेटले भने यो व्यवस्था लागु नगर्ने भएका छन् ।

 

(*समाचारको शीर्षक परिवर्तन गरिएको छ- स.)

पछिल्लो अध्यावधिक: साउन १७, २०८१ १६:१