काठमाडौं । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ । सरकारले करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्क अन्तर्गतका च्यानलको प्रसारण रोकिएको छ । “१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन,” टेकपानासँगको कुराकानीमा उनले भने, “उनीहरू च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका छन् । ऐन कानुन अनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या छैन ।”
त्यसो त सुरुवाती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरू प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै यस्तो प्रणालीको विरोधमा छन् ।
१ साउन २०८० देखि यो प्रणाली लागु भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो । तर सरकार पछि हट्ने सङ्केत नपाएपछि भने भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । जसका लागि सरकार र भारतीय टेलिभिजन नेटवर्कहरूबिच सहमति समेत भइसकेको ठाकुरले बताए । सोही अनुरूप उनीहरूले सूचना तथा प्रसारण विभागमा बुके (च्यानलहरूको शुल्क विवरण) समेत बुझाएका थिए ।
तर अहिले आएर भारतीय टेलिभिजन नेटवर्कहरूले पुनः आलाकार्टा प्रणाली लागु गर्न सम्भव नरहेको भन्दै विदेशी मुद्रा सिफारिस गरिदिन सूचना तथा प्रसारण विभागमा निवेदन दिएका छन् । मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायकको गरी करिब एक अर्ब रुपैयाँको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।
ग्राहकले च्यानल रोजेर खरिद गर्न पाउने र निर्धारित शुल्क मात्रै तिरे हुने आलाकार्टा प्रणाली लागु गर्दा ग्राहकलाई टेलिभिजन शुल्क सस्तो पर्न जान्छ । तर सरकारसँग भने आलाकार्टा मूल्य प्रणाली लागु गरे नगरेको अनुगमन गर्ने प्रविधि भने नरहेको प्रवक्ता ठाकुर स्वीकार गर्छन् ।
“त्यस्तो प्रविधि खरिद गर्ने कुरा निकै खर्चिलो हुन जान्छ,” उनले अगाडि भने, “त्यसको साटो हामीले अपरेटर तथा केबुल प्रदायकहरूलाई नै कति ग्राहकले आलाकार्टा मूल्य प्रणाली अन्तर्गत कति रकम बुझाए त्यसको विवरण बुझाउन भनेका छौं । तर उनीहरूले त्यस्तो रिपोर्ट नभएको भन्दै बुझाउन आलटाल गरिरहेको अवस्था छ ।”
के हो आलाकार्टा शुल्क प्रणाली ?
आलाकार्टा शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो । मानौं तपाईं पाँच ओटा च्यानल हेर्नु हुन्छ भने तपाईंले त्यति मात्रै च्यानलको पैसा तिरे पुग्छ । तर भारतीय टेलिभिजन नेटवर्कको दाबी भने ग्राहकले हेरे पनि नहेरे पनि उनीहरूले उपलब्ध गराउने सबै च्यानलको पैसा तिर्नु पर्ने हुन्छ । यो भनेको खानाको बफेट सिस्टम जस्तै हो, जहाँ खानाका ४०/५० परिकार राखिएको छ भने तपाईंले जे जति खाए पनि सबैको पैसा तिर्नुपर्ने हुन्छ ।
तर आलाकार्टा मूल्य प्रणाली भनेको त्यसको ठिक फरक हो । जसमा तपाईंले जति परिकारका खाने कुरा खानुहुन्छ, त्यतिका लागि मात्रै तिर्नु हुन्छ । यसबाट उपभोक्तालाई न्याय हुने अपेक्षा गरिएको छ ।
किनभने यो प्रणाली लागु नहुँदा आफूले नहेर्ने र अनावश्यक च्यानल सहितको प्याकेजका लागि समेत ग्राहकले शुल्क तिर्नुपर्ने अवस्था छ । छिमेकी देश लगायत विश्वका धेरैजसो मुलुकमा यो प्रणाली प्रचलनमा छ ।
नेपाल सरकारको निर्णय कार्यान्वयनपछि टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि मासिक २५० रुपैयाँ र सशुल्क च्यानल समेत गरी अधिकतम मासिक ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसका साथै सेवाप्रदायकले हाल इन्टरनेट र टेलिभिजन च्यानल गरी लिइराखेको कूल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यवस्था समेत गरिएको छ ।
यो नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार मन्त्रालयले नै निर्धारण गर्ने व्यवस्था छ । यो नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी हुने र उपभोक्ता तथा सेवाप्रदायकलाई फाइदा पुग्ने विश्वास राखिएको छ ।