काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एचसीएचएल) ले मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा कनेक्ट आईपीएसको वेब तथा एपको युजर रजिस्ट्रेसन नचाहिने स्पष्ट पारेको छ । एक बैंक खाताबाट अर्को बैंक खातामा रकम पठाउँदा कनेक्ट आईपीएसको लगईन तथा पासवर्ड नभई पनि हुन्छ ।
त्यसो त यसअघि देखि नै मोबाइल बैंकिङ एपहरूमा रकम ट्रान्सफरका विकल्प अपनाउँदा कनेक्ट आईपीएसको युजर लगईन आवश्यक पर्दै थ्यो । यद्यपि केही प्रयोगकर्तामा अस्पष्टता रहेको भन्दै कम्पनीले कनेक्ट आईपीएसको युजर लगईन नभए पनि रकम ट्रान्सफर गर्न सकिने भन्दै प्रष्ट पारेको हो । कुनै पनि मोबाइल बैंकिङ एपमा फण्ड ट्रान्सफरको विकल्पमा कनेक्ट आईपीएस छानेर एनसीएचएलको यो सुविधा प्रयोग गर्न सकिन्छ ।
यद्यपि रकम ट्रान्सफर गर्दा सम्बन्धित मोबाइल बैंकिङको युजर तथा पासवर्ड भने आवश्यक पर्छ । यसका साथै कनेक्ट आईपीएसको मोबाइल एप तथा वेब एप मार्फत रकम ट्रान्सफर गर्दा भने कनेक्ट आईपीएसकै युजर तथा पासवर्ड जरुरी पर्छ ।
कनेक्ट आईपीएस मार्फत रकम ट्रान्सफर गर्दा ५०० रुपैयाँसम्मको दुई रुपैयाँ, ५०० देखि पाँच हजार रुपैयाँसम्म चार रुपैयाँ र पाँच हजारमाथिका लागि आठ रुपैयाँ लाग्ने गरेको छ । यद्यपि थप १३ प्रतिशत भ्याट भने लाग्ने कनेक्ट आईपीएसले स्पष्ट पारेको छ ।
यस्तो भ्याट ट्रान्सफर हुने रकममा नभई रकम ट्रान्सफर गर्दा लाग्ने शुल्कको १३ प्रतिशतको दरले लाग्नेछ । उदाहरणका लागि तपाईंले १० हजार रुपैयाँ पठाउँदा कनेक्ट आईपीएसले आठ रुपैयाँमा त्यसको १३ प्रतिशतले हुने एक रुपैयाँ ४ पैसा समेत जोडेर नौ रुपैयाँ चार पैसा काट्छ ।