close

अन्डरग्राउन्ड पार्किङमा राखिएको मर्सिडिज ईभीमा आगलागी, २१ जना घाइते अनि ७० गाडी जलेर नष्ट

टेकपाना टेकपाना

साउन २१, २०८१ १७:५१

अन्डरग्राउन्ड पार्किङमा राखिएको मर्सिडिज ईभीमा आगलागी, २१ जना घाइते अनि ७० गाडी जलेर नष्ट

काठमाडौं । पार्किङमा राखिएको विद्युतीय गाडी ‘मर्सिडिज बेन्ज ईक्यूआई सेडान’ मा आगलागी हुँदा ७० ओटा अन्य गाडी जलेर नष्ट हुनुका साथै २१ जना घाइते भएका छन् । शुक्रबार दक्षिण कोरियाको इनचिन सहरको एक अपार्टमेन्टको भूमिगत पार्किङमा राखिएको मर्सिडिजको विद्युतीय गाडीमा एक्कासी आगलागी भएको थियो । 

४० वर्षका सवारी धनीले २९ जुलाईमा उक्त कार अपार्टमेन्टमा पार्क गरेर राखेका थिए । त्यसको तीन दिनपछि अर्थात् २ अगस्टमा कारमा आगो लागेको हो । पार्किङ गरी राखिएको उक्त विद्युतीय गाडीबाट एक्कासि धुवाँको मुस्लो निस्किएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार पार्किङमा रहेको सो गाडी चार्जमा लगाइएको थिएन । धुवाँको मुस्लोसँगै गाडीमा आगो लागेको सीसीटिभी फुटेजमा देख्न सकिन्छ । त्यही विद्युतीय गाडीमा लागेको आगो वरपर रहेका अन्य गाडीमा पनि सल्किएको थियो । 

स्थानीय सञ्चार माध्यमका अनुसार त्यहाँ लागेको आगो नियन्त्रण गर्न झन्डै आठ घण्टा लागेको थियो । पार्किङमा लागेको आगो बढ्दै जाँदा अपार्टमेन्टमा रहेका २०९ जना व्यक्ति त्यहाँबाट निस्किएका थिए । खासगरी त्यहाँ बस्ने व्यक्तिहरूलाई बार्दली र भर्‍याङबाट उद्धार गरिएको थियो । यस क्रममा घाइते भएका व्यक्तिहरूलाई अस्पताल पुर्‍याइएको छ भने सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

स्थानीय पत्रिका कोरिया जोङआङ डेलीसँग कुरा गर्दै मर्सिडिज बेन्जका प्रवक्ताले भनेका छन्, “हामीले अहिलेलाई गाडीको मोडेल र ब्याट्रीको विवरण पुष्टि गर्न असमर्थ भयौं । यस घटनालाई गम्भीरतापूर्वक लिएर हामी अग्निसँग सम्बन्धित निकायसँग सहकार्य गर्नेछौं ।”

यस घटनामा प्रहरी र अग्नि विभागले अनुसन्धान थालेका छन् । विश्लेषकका अनुसार आगलागी हुनुअघि त्यो गाडी केही वस्तुमा ठोक्किएको हुनसक्छ । सम्भवतः यसले गर्दा ब्याट्रीमा क्षति भयो र ब्याट्री तात्दा गाडीमा आगो लाग्यो । 

पछिल्लो अध्यावधिक: साउन २१, २०८१ १७:५१