काठमाडौं । अब नबिल बैंकको मोबाइल बैंकिङ् एपबाट नमस्ते पे वालेटमा रकम लोड गर्न सकिने भएको छ । मङ्गलाबर आयोजित एक कार्यक्रमबिच नमस्ते पेका डेपुटी सीईओ विनय बिजुक्छे र नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नबिल बैंक र नमस्ते पेबिचको यो साझेदारीले प्रयोगकर्तालाई आफ्नो नमस्ते पे वालेटमा रकम लोड गर्न सहज बनाउनेछ । नमस्ते पेमा यूएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल रिक्वेस्ट मनी जस्ता सुविधाहरू समेत रहेका छन् ।
जसले नमस्ते पेको भुक्तानी सबैका लागि पहुँचयोग्य बनाउन र डिजिटल विभेदलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड अन्तर्गत रहेको नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित छ ।
जसले डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै प्रयोगकर्ता माझ आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । नमस्ते पे प्रयोगकर्ताले *500# डायल गरी अफलाइन मार्फत डिजिटल भुक्तानी गर्न सक्छन् । जसमा रिचार्ज, बिल भुक्तानी, पैसा थप्ने, पैसा पठाउने, व्यापारिक भुक्तानी जस्ता सेवाहरू उपलब्ध छन् ।
यो अफलाइन सेवा प्रयोग गर्न ग्राहकसँग नेपाल टेलिकमको सिम भने हुनु पर्छ ।