काठमाडौं । वाईवाईको ट्रेडमार्क नक्कल गरेको भन्दै सीजी फुड्सले गरेको प्रचारबाजीको करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्स प्रालिले खण्डन गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन भइरहेको दलिल पेस गरेको हो ।
"यशोदा फुड्स प्रालिले उद्योग विभाग समक्ष आवेदनबाट करेन्ट रेगुलर रु. २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सीजी फुड्सले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाउँ भनी उद्योग विभागमा दिएको रहेछ," विज्ञप्तिमा भनिएको छ, "सो निवेदनमा उद्योग विभागले सीजी फुड्सको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २९ जेठ २०८० मा फैसला गरेको थियो ।
सो फैसला उपर सीजीले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा ‘यस अदालतबाट उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभागबाट भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो' भनी आदेश भएको थियो ।" सो आदेशमा सर्वोच्च अदालतबाट ३२ साउन २०८१ मा ‘कानुन बमोजिम गर्नु’ भनी आदेश भएको, तर सीजीले सोको गलत व्याख्या गरी यशोदा फुड्सको उत्पादन विक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको भन्दै यशोदा फुड्सले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यशोदा फुड्सका अनुसार उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरूमा मात्र उत्पादन गरी आएको छ । तर उद्योगले सयौं लेबल तथा ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा आवेदन गर्ने गरिएकोमा उल्लिखित एक लेबल दर्ताको क्रममा सीजीले विरोध गरेपछि सो एक आवेदन नम्बरको लेबलको विषय हाल उच्च अदालतले कार्यान्वयन नगरी यथा स्थितिमा राख्नु भनि गरेको आदेशलाई कम्पनीले पालना गरिरहेको उल्लेख छ ।
"उक्त आवेदनको लेबलबाट कुनै माल वस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त संलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र माल वस्तु उत्पादन गरी आएको ब्यहोरा अनुरोध गर्दै यस विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्बाध रूपमा हाम्रा उत्पादनहरू विक्री वितरण गर्न तथा उपभोग गर्न आम उपभोक्ता महानुभावहरू, व्यापारी वर्ग तथा डिलरहरू समक्ष अनुरोध गर्दछौँ," कम्पनीले विज्ञप्तिमा भनेको छ । यसका साथै कम्पनीले विभागबाट प्राप्त आफ्ना लेबल डिजाइन ट्रेडमार्क दर्ता प्रमाणपत्र समेत सार्वजनिक गरेको छ ।