काठमाडौं । अन्ततः दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका यात्रीहरू सुनिता विलियम्स र बेरी विल्मरलाई एलन मस्कको कम्पनी स्पेसएक्सको रकेटमार्फत पृथ्वीमा ल्याइने भएको छ । शनिबार नासाले आधिकारिक रूपमा उनीहरूलाई फेब्रुअरी २०२५ सम्ममा ल्याउन स्पेसएक्सको रकेट प्रयोग गरिने जानकारी दिएको हो ।
यससँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा फसेको उनीहरूको बसाइँ अझै लम्बिने भएको छ । उनीहरू गत ५ जुनमा आठ दिनको मिसनका लागि अन्तरिक्ष गएका थिए । तर, उनीहरूलाई त्यहाँ पुर्याउने बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि योजना अनुसार पृथ्वीमा फर्कन सकेका थिएनन् ।
बोइङ र स्पेसएक्स दुवै अन्तरिक्ष सम्बन्धी काम गर्ने निजी कम्पनीहरू हुन् । उनीहरूलाई काम गर्न नासाले आर्थिक सहयोग दिने गर्छ । अहिले यी दुवै कम्पनीसँग नासाले अर्बौं डलरको आर्थिक सम्झौता गरेको छ ।
यीमध्ये स्पेसएक्सले नासाका लागि अन्तरिक्ष यात्री संलग्न नौ वटा उडान भरेको छ । बोइङका लागि भने अन्तरिक्ष यात्री सहितको यो पहिलो उडान थियो । तर बोइङको स्टारलाइनर आईएसएस नजिक पुग्नासाथ समस्यामा पर्यो । यानका पाँच थ्रस्टर (रकेटलाई मन्द गति दिने मोटर) बन्द भए । त्यसमा रहेको हिलियम पनि सकियो । यसबाहेक अन्य प्राविधिक समस्या पनि देखिए । यसकारण उक्त यानले विलियम्स र विल्मरलाई पृथ्वीमा फर्काउन सकेको थिएन ।
अब स्पेसएक्सलाई कुर्दा उनीहरूले करिब आठ महिना त्यहीँ बिताउनु पर्ने भएका छन् । उनीहरूलाई आईएसएस लगेको स्टारलाइनर यान भने चालकदल बिना नै पृथ्वीमा फर्किने नासाले जनाएको छ । सो उडानमा पृथ्वीबाट अन्तरिक्षतर्फ चार जना अन्तरिक्ष यात्री जानेछन् । जसमध्ये दुई जना आईएसएसमा नै बस्नेछन् भने अन्य दुई जनासँगै विलियम्स र विल्मर पृथ्वी फर्कनेछन् ।