close

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा लिन चाहने स्टार्टअपलाई परियोजना प्रस्ताव गर्न आह्वान

टेकपाना टेकपाना

भदौ ११, २०८१ १०:२९

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा लिन चाहने स्टार्टअपलाई परियोजना प्रस्ताव गर्न आह्वान

काठमाडौं । स्टार्टअप उद्यम कर्जा चाहने उद्यमीका लागि सरकारले परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मंगलवार एक सूचना जारी गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार योग्यता पूरा गरेका उद्यमीहरूलाई आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्ने जानकारी गराइएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले २१ दिनभित्र कार्यविधिको अनुसूची-३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । अनलाइनमार्फत परियोजना प्रस्ताव पेश गर्न सकिने छ ।

प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइटमा उपलब्ध गराइएको छ । 

इच्छुक उद्यमीहरूले एकमात्र प्रस्ताव पेश गर्न पाउनेछन्, र अन्य निकायबाट सहुलियतपूर्ण कर्जा नलिएको स्वघोषणा पनि गर्नुपर्नेछ । विज्ञ समितिले प्रस्तावको मूल्यांकन गर्दै सोच र प्रविधिको प्रयोग, व्यावसायिक प्रस्ताव, रोजगार सिर्जना र अन्य मापदण्डमा आधारित निर्णय गर्ने बताइएको छ । 

छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्, जसको अवधि पाँच वर्षसम्म हुनेछ । कर्जाका लागि उद्योग व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोडभन्दा कम भएको हुनुपर्नेछ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउनेछन् ।​

पछिल्लो अध्यावधिक: भदौ ११, २०८१ ११:५८