काठमाडौं । राजधानीमा १६औं संस्करणको नाडा अटो शो मंगलबारदेखि सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा छ दिनसम्म चल्ने यस कार्यक्रमको प्रदर्शनीको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
नाडा अटो शो २०२४ मा २४ चार पांग्रे ब्रान्ड, १९ दुई पांग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री लगायतका सामग्रीसहित कुल १३० स्टल रहेका छन् ।
यस वर्षको शोमा विद्युतीय सवारीमा विशेष जोड दिइएको छ । यसअन्तर्गत दर्जन बढी ब्राण्डका बिजुली गाडी प्रदर्शनीमा राखिएको छ । यस्ता गाडीको डिजाइन, नवीनतम प्रविधि र वातावरणमैत्री विशेषताहरूले दर्शकलाई लोभ्याउने आयोजकको विश्वास छ ।
अटो शोको अवसर पारी विभिन्न ब्राण्डहरूले नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफर घोषणा गरेका छन् । साथै स्टलबाटै गाडीहरूको मूल्य, माइलेज र अन्य विशेषताहरूबारे जानकारी दिइने छ ।
उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले ईभी क्षेत्रमा नीतिगत स्थिरता ल्याउनेबारे अध्ययन गरी सुधारका उपायहरू अघि बढाउने प्रतिबद्धता जनाए ।