close

६८ लाख मूल्यमा सार्वजनिक भयो आकर्षक बिजुली गाडी ‘लिपमोटर सी१०’

टेकपाना टेकपाना

भदौ ११, २०८१ १४:४२

६८ लाख मूल्यमा सार्वजनिक भयो आकर्षक बिजुली गाडी ‘लिपमोटर सी१०’

काठमाडौं । नेपाली बजारमा आकर्षक ईभी ‘लिपमोटर सी१०’ सार्वजनिक भएको छ । मङ्गलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२४ मा नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले यो ईभी सार्वजनिक गरेको हो । यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले सोमबार मात्रै गाडीको ‘फस्ट लुक’ सार्वजनिक गरेको थियो । 

कस्तो छ लिपमोटर सी १० ? 

यस गाडीको लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६८० एमएम रहेको छ । २८२५ एमएमको ह्विलबेस भएको गाडीमा ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ ।

गाडीले ७.५ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न सक्ने तथा प्रतिघण्टा १७० किलोमिटरको टप स्पिड दिने कम्पनीको भनाइ छ ।  

यसमा पाँच ओटा ढोका छन् भने पाँच ओटै सिट रहेका छन् । बुटस्पेस भने यसमा ४३५ लिटर रहेको छ । गाडीमा ३२० न्युटनमिटर टर्क दिने १६० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर राखिएको छ ।

यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी मोटर दिइएको छ । यसले एक पटकको चार्जमा ४२० किलोमिटर डब्लएलटीपी रेन्ज दिने दाबी कम्पनीको छ । 

कम्पनीका अनुसार गाडीले ६.६ किलोवाटको ओबीसी पावर सपोर्ट गर्छ । गाडीमा ३० प्रतिशत चार्ज छ भने ६.६ किलोवाटको एसी चार्जरले छ घण्टा १० मिनेटमा चार्ज गर्दा गाडी ८० प्रतिशत चार्ज भइसक्छ । त्यस्तै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज पुर्‍याउन डीसी चार्जरलाई आधा घण्टा मात्र लाग्ने दाबी कम्पनीले गरेको छ । 

गाडीको अगाडि र पछाडि चार ओटै टायरमा डिस्क ब्रेक दिइएको छ । च्यासिस सिस्टम अन्तर्गत गाडीमा आरडब्लूडी ड्राइभट्रेन सिस्टम छ । अगाडि म्याकफेर्सन स्ट्रट सस्पेन्सन छ भने पछाडिपट्टि मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन छ । 

यसमा ईपीएस स्टेरिङ असिस्टेन्ट पनि छ । इलेक्ट्रोनिक कोलुम सिफ्टर भएको यो गाडीमा अटो होल्डको सुविधा पाउन सकिन्छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, हाइड्रोलिक ब्रेक असिस्ट जस्ता सुविधा पनि समावेश गरिएका छन् । 

कम्पनीका अनुसार यस गाडीमा ट्राक्सन कन्ट्रोल सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, डाइनामिक ब्रेकिङ फङ्सन र हिल होल्ड कन्ट्रोलको सुविधा पनि पाउन सकिन्छ । यसमा एक्टिभ रोलओभर प्रोटेक्सन, मल्टी कोलिसन ब्रेक र ब्रेक ओभरराइड सिस्टम पनि राखिएको छ । 

यसमा तीन ओटा स्टेरिङ मोड, चार ओटा ड्राइभिङ मोड र तीन ओटा रिजेनेरेटिभ ब्रेकिङ मोडहरू समावेश छन् । सुरक्षाका सन्दर्भमा यसमा अगाडिपट्टि र पछाडि छेउमा एयरब्याग दिइएका छन् । यात्रुको थप सुरक्षाका लागि गाडीमा थ्री-पोइन्ट सिट बेल्ट रहेका छन् ।

त्यस्तै यसमा गाडी चलाउँदा स्वतः गाडी लक हुने सिस्टम पनि राखिएको छ । त्यस बाहेक ठोक्किएको अवस्थामा स्वतः अनलक हुने सुविधा पनि यसमा समावेश छ । 

यो गाडीमा १२ ओटा स्पिकर राखिएका छन् । एउटा मेकानिकल की भएको यस गाडीमा ब्लुटुथ र एनएफसी कीको सुविधा पाउन सकिन्छ । फोन चार्ज गर्न यसमा वायरलेस चार्जिङको फिचर पनि राखिएको छ ।

गाडीमा १२.२५ इन्चको एलसीडी ड्याशबोर्ड र १४.६ इन्चको सेन्ट्रल टच स्क्रिन सिस्टम छ । अनलाइन म्युजिक र अनलाइन भ्वाइस कन्ट्रोलको सुविधा पनि यसमा पाउन सकिन्छ । गाडीमा इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टम राखिएको छ । त्यस्तै यसमा न्वाइज क्यान्सिलेसनसहितको डुअल माइक्रोफोन पाउन सकिन्छ । यसमा कनेक्टिभिटीका लागि वाई-फाई सपोर्ट गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८१ १७:५३