close

होटलको भित्तामा पिसाब फेरेपछि जागिरबाट निकालिए लेनोभोका ६६ वर्षीय कर्मचारी

टेकपाना टेकपाना

भदौ १२, २०८१ १०:३८

प्रतिकात्मक तस्बिर प्रतिकात्मक तस्बिर

काठमाडौं । भित्तामा पिसाब गर्दा प्रविधि कम्पनी लेनोभोका एक कर्मचारीको जागिर गुमेको खबर बाहिरिएको छ । अमेरिकाको न्युयोर्क राज्यमा लेनोभोको सेल्सम्यानका रूपमा कार्यरत ६६ वर्षीय रिचर्ड बेकरले टाइम्स स्क्वायर होटेलको लबीमा पिसाब गरेपछि जागिर गुमाएका हुन् । 

यो घटना गत फेब्रुअरीको हो । एउटा अफिसियल डिनरपछि बेकर होटल फर्किंदै थिए । मूत्राशयको समस्याबाट पीडित उनलाई अचानक पिसाब लाग्यो, तर नजिकै शौचालय फेला नपारेपछि अर्को तल्लाको एकान्त कुनामा गएर पिसाब गरे । 

बेकरको यो गतिविधि एक सहकर्मीले देखेका थिए र तुरुन्तै कम्पनीको एचआर डिपार्टमेन्टमा उजुरी गरे । कम्पनीले पनि कुनै सोधपुछ नगरी उनलाई जागिरबाट निकालिदियो ।

बेकरले आफूलाई जागिरबाट निकालिएकोमा अन्याय भएको महसुस गर्दै कानुनी प्रक्रिया थालेका छन् । उनले अमेरिकास्थित लेनोभोको सहायक कम्पनीले 'न्युयोर्क स्टेट सिटी ह्युमन राइट्स ल' उल्लङ्घन गरेको आरोप लगाउँदै १५ लाख डलर (करिब २० करोड रुपैयाँ) क्षतिपूर्ति माग गरेका छन् । 

मुद्दामा उनले सन् २०१६ देखि आफूलाई मूत्राशयको समस्या भएको र यसबारे लेनोभोका सहकर्मी तथा प्रबन्धकहरूलाई पहिल्यै जानकारी रहेको बताएका छन् ।

जागिरबाट हटाइएपछि बेरोजगार बनेका बेकरले आर्थिक क्षतिपूर्तिसँगै मानसिक पीडाको क्षतिपूर्ति पनि माग गरी न्यायको खोजी गरेका छन् ।

लेनोभोले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८१ १३:३२