काठमाडौं । सफ्टवेरिका कलेजमा आजदेखि रोबोटहरूको युद्ध अर्थात् रोबो वार ब्याटल लिग सुरु भएको छ । नेपालमै पहिलो पटक छ महिनासम्म चल्नेगरी रोबो वारियर्स लिग २०२४/२५ को सुरुवात भएको हो ।
यस लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा बढी बोटहरूलाई प्रतिस्पर्धा गराइने छ । लिग पोइन्टमा आधारित भएर सबैभन्दा बढी अङ्क प्राप्त गर्ने टोली विजेता हुनेछ ।
लिगमा प्रथम हुने समूहले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उसैगरी द्वितीय र तृतीय हुने समूहले क्रमश: एक लाख र पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
कलेजका अनुसार ती रोबोट बनाउन विद्यार्थीहरूलाई प्रविधि, शिक्षा लगायतका क्षेत्रमा काम गरिरहेका छुट्टाछुट्टै कम्पनी तथा सङ्घसंस्थाहरूले प्रायोजन गरेका छन् । जसमा ब्रोडवे इन्फोसिस, चाँगुनारायण नगरपालिका, डाँफेलिङ्क, भायानेट कम्युनिकेसन, युनिक्याम्पस ग्लोबल लगायतका कम्पनी रहेका छन् ।
यसरी प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्ने बताइएको छ । यसले प्रतिस्पर्धालाई नवप्रवर्तन र ब्रान्डिङको संगम बनाउने कलेजको विश्वास छ ।
कलेज प्रमुख प्रमाेद पाैडेलका अनुसार यो लिग केवल प्रतियोगिता मात्र नभएर मनोरञ्जन सहितको व्यवहारिक सिकाइ समेत हो । प्रतियोगिता अवधिभर विद्यार्थीहरूले विभिन्न क्षेत्रका कम्पनीहरूसँग सहकार्य गर्न पाउने भएकाले उनीहरूले जीवन्त सीप सिक्न पाउने उनको भनाई छ ।
प्रतियोगिता खेलहरू हरेक आइतबार कलेज परिसरमा आयोजना हुनेछन् । कलेजमा उपस्थित भएर अथवा कलेजको फेसबुक र युट्युब च्यानलमार्फत प्रतियोगिता नि: शुल्क हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
युट्युबमा रोबो वार प्रतियोगिताको लाइभ तथा रेकर्डेड भिडिओ हेर्न लागि यहाँ क्लिक गर्नुहोस् । यसका साथै तपाईंले फेसबुकमा हाम्रो खेलकुदको पेजमार्फत समेत यो प्रतियोगिताको लाइभ हेर्न सक्नु हुनेछ ।