काठमाडौं । चिनियाँ ब्रान्ड डोङफेङको ‘नामी’ सवारी साधनको नेपालै सबैभन्दा ठुलो प्रदर्शनी ‘नाडा अटो शो २०२४’ मा सबैभन्दा बढी बुकिङ ईभी बन्न सफल भएको छ । ११ देखि १६ भदौसम्म चलेको अटो शोमा नामीका मात्रै ७१७ ओटा विद्युतीय गाडी बुकिङ भएका हुन् ।
नेपालमा नामी ईभी एमएडब्लू वृद्धि अटोकर्पले भित्र्याएको हो । यस बाहेक सो कम्पनीले दीपाल एल ०७, दीपाल एस ०७, सेरेस थ्री पनि प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार नाडा अटो शोमा २१० युनिट शेरेस ईभी बुकिङ भएका छन् भने बुक हुने दीपाल एल ०७ र एस ०७ को सङ्ख्या १६५ युनिट रहेको छ ।
साइमेक्स इङ्कले यस वर्ष ‘बीवाईडी एट्टी थ्री २०२४’ मोडेल र बीवाईडी डल्फिन प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार एट्टी थ्रीको बुकिङ ४९७ युनिट र डल्फिनको बुकिङ २७३ युनिट भएको छ ।
सीजी मोटर्स अन्तर्गतको नेटा एक्सको बुकिङ ११५ युनिट भएको छ । यसअघि नै बजार आइसकेको नेटा भीको बुकिङ भने ८६ युनिट रहेको कम्पनीले जनाएको छ ।
सीजी मोटर्सले नै ल्याएको एक्सपेङको जी सिक्स मोडेलको बुकिङमा पनि आकर्षण देखिएको छ । नाडा अटो शोमा यस मोडलको बुकिङ ५७ युनिट रहेको छ ।
नेपाली बजारमा सबैभन्दा बढी चर्चा पाएको अवतार ११ ईभी सीजी मोटर्स अन्तर्गत २२ युनिट बुकिङ भएको बताइएको छ । त्यस्तै यसअघि नै बजारमा आइसकेको जीएसी मोटर्सको आयोन वाई मोडेलको पनि उल्लेखनीय बुकिङ भएको छ । सीजी मोटर्सका अनुसार नाडा अटो शो २०२४ मा आयोन वाईको बुकिङ ७० युनिट रहेको छ ।
नेपाली बजारमा चर्चा पाएको अर्को मोडेल रिडारा जि-सिक्सको बुकिङ ४३ युनिट भएको कम्पनीले जनाएको छ । टाटाले नाडा अटो शो २०२४ मा पन्च ईभी र टियागो ईभी प्रदर्शनीमा राखेको थियो । खासगरी पन्च ईभीतर्फ उपभोक्ताको आकर्षण बढी देखिन्थ्यो ।
कम्पनीका अनुसार यस वर्षको नाडा अटो शोमा पन्च ईभीको बुकिङ ४२५ युनिट भएको छ भने टियागो ईभीको बुकिङ १९० युनिट रहेको छ । त्यस्तै पायोनियर मोटो कर्पले नाडा अटो शो २०२४ मा तीन ओटा मोडेल ल्याएको थियो । त्यसमध्ये ओमोडाका दुई ओटा मोडेल र जिकरको एउटा मोडेल रहेका थिए । कम्पनीका अनुसार जिकर एक्सको बुकिङ ३० युनिट र ओमोडाको बुकिङ ३५० भन्दा बढी युनिट रहेको छ ।
साङ्ग्रिला मोटर्सले नाडा अटो शोमा प्रदर्शनीमा राखेको लिपमोटर सी १० ले पनि यस वर्षको नाडा अटो शोमा दर्शकहरूलाई राम्रै आकर्षित गरिरहेको थियो । त्यसै अनुसार यसको बुकिङ पनि उल्लेखनीय रहेको देखिन्छ ।
कम्पनीका अनुसार लिपमोटर सी १० को बुकिङ १७८ युनिट भएको छ । त्यस्तै साङ्ग्रिला मोटर्सले नै प्रदर्शनीमा राखेको सिस्ट्रोन सी थ्री ईभीको बुकिङ ४५ युनिट छ ।
यस्तै जी मोटर्सले ‘नाडा अटो शो’ मा स्काईवेल बीई ११ प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार त्यस क्रममा यस ईभीको बुकिङ १२६ युनिट भएको छ ।