close

नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त

टेकपाना टेकपाना

भदौ २०, २०८१ २१:१९

नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त

काठमाडौं । सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए । यसअघि सरकारले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उनलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्ने जिम्मेवारी दिएको  थियो ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा मुछिएसँगै पहाडीले असोज २०८० यता कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आइरहेकी छिन् । त्यसअघि उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर टेलिकम सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि २०५१ फागुन १० गते दूरसञ्चार संस्थानमा स्थायी नियुक्ति लिएकी उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएकी थिइन्नि । 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८१ २१:२७