close

रमाइलोका लागि ह्याकरले गरे राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट डाउन

टेकपाना टेकपाना

भदौ २३, २०८१ १३:१८

रमाइलोका लागि ह्याकरले गरे राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट डाउन

काठमाडौं । एक ह्याकर समूहले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट नियन्त्रणमा लिएको दाबी गरेको छ । शनिबार राति टेलिग्राममा पोस्ट राख्दै ‘एनोनिमस नेपाल’ नामको ह्याकर समूहले बोर्डको वेबसाइट (neb.gov.np) डाउन गरेको जनाएको हो । 

टेकपानासँग कुरा गर्दै एनोनिमस नेपाल समूहका एक सदस्यले रमाइलोका लागि परीक्षा बोर्डको वेबसाइट डाउन गरेको बताएका छन् । ‘बोटनेट अट्याक’ विधिमार्फत वेबसाइट डाउन गरेको बताउँदै उनले आक्रमण रोकिएपछि पनि तत्कालै वेबसाइट नखुल्ने दाबी गरे ।

त्यस्तै उनले आफूहरूसँग केही विद्यालयको लगइन विवरण समेत रहेको दाबी गरेका छन् । 
 ​

आइतवार बिहानसम्म बोर्डको वेबसाइट खोल्दा ‘फर्बिडन, यु डन्ट ह्याभ पर्मिसन टु एक्सेस दिस रिसोर्स’ भन्ने सूचना देखिन्थ्यो भने अहिले ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सूचना देखिन्छ । 

 

यसको कारणबारे बोर्डका अधिकारीहरू अनभिज्ञ छन् । “खै, हाम्रोबाट होइन । वेबसाइट बनाएर दिने ठाउँबाटै समस्या आएको भन्ने सुन्नमा आएको छ,” बोर्डकी एक प्रतिनिधिले भनिन्, “वेबसाइट नखुल्दा हामीलाई काम गर्न गाह्रो भएको छ ।”

पछिल्लो अध्यावधिक: भदौ २३, २०८१ १३:३९