काठमाडौं । शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रहरीले विदेश हिँडेका युवकको गलाबाट खादा निकाल्न भनेको भिडिओ भाइरल छ ।
८ सेकेन्ड लामो सो भिडिओमा एक युवक ट्रलीमा दुई ओटा झोला राखेर विमानस्थलभित्र प्रवेश गरिरहेको देखिन्छन् । त्यही समयमा ड्युटीमा खटिएका एक प्रहरी अधिकारीले ‘खादा खोल्नू’ भनेको सुनिन्छ । युवकले भने राम्रोसँग कुरा नबुझेर हातमा भएको कागजात प्रहरीलाई दिन खोज्छन् ।
त्यसपछि प्रहरीले युवकको गलामा रहेको खादा पछाडि सार्दै ‘यो खोल्नु भनेको’ भन्छन् । उक्त वाक्य सुनेपछि युवक खादा निकालेर हातमा राख्छन् । त्यस लगत्तै प्रहरी अधिकारी भिडिओ खिचिरहने व्यक्तितर्फ फर्केर ‘यहाँ फोटो……” भन्छन् । र, भिडिओ कट्छ ।
यही भिडिओको सन्दर्भमा सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् । युवकलाई गरिएको व्यवहारबारे एक्समा मन्दिरा नामकी युवतीले भिडिओ राख्दै आफ्नो असन्तुष्टि पोखेकी छिन् । उनले लेखेकी छिन्, “सरसर्ती हेर्दा विदेश जान लागेका भाइ सामान्य देखिन्छन् । सम्भवतः रोजगारीका लागि खाडी मुलुकतिर जान लागेका जस्ता देखिन्छन् । तर, प्रहरीको व्यवहार हेर्दा ठूलै आतङ्ककारीलाई गरेको जस्तो देखिन्छ ।”
सरसर्ति हेर्दा बिदेश जान लागेका भाई सामान्य देखिन्छन,सम्भबत रोजगारीको लागि खाडि मुलुकतिर जान लागेका जस्ता देखिन्छन तर प्रहरीको व्यबहार हेर्दा ठुलै आतङ्ककारीलाई गरेको जस्तो देखिन्छ।
तल्ला तहकालाई अलि बढि तालिमको जरुरत देखियो।
सम्बन्धित निकायको ध्यान जाओस बेलैमा।
बोलि बचन ठिक भएन😋 pic.twitter.com/JnQhjLm7Ya
उनको भिडिओलाई रिपोस्ट गर्दै धेरैले आफ्नो धारणा दिएका छन् । फोटो पत्रकार विकास कार्कीले भिडिओलाई रिपोस्ट गर्दै भनेका छन्, “एयरपोर्टमा लगाएको खादा खोल्नु पर्ने नियम कहिलेबाट आयो ?,” नेपाल प्रहरीलाई मेन्सन गर्दै उनले भनेका छन्, “नेताका लावालस्करलाई केही पनि भन्न नसक्ने, लुरुलुरुपछि लाग्ने, अनि एउटा आमसर्वसाधारण नेपालीमाथि गर्ने तिम्रो व्यवहार यस्तै हो ?”
उनले अगाडि भनेका छन्, “हेलो सरकार, गृह मन्त्रालय, यी भाइ तिम्रा आफन्त परेको भए तिम्रो कन्पारो तात्थ्यो कि तात्दैन थियो ? पासपोर्ट बनाउनदेखि डिपार्चरको गेटसम्म एक आमनेपालीले यी यस्तै व्यवहारबाट गुज्रनु पर्छ । अनि जनता आजित हुने अनि असभ्य नारा लगाउँदैन त ? जवाफ देऊ नेपाल प्रहरी ।”
त्यस्तै फेसबुक प्रयोगकर्ता ज्वाला श्रेष्ठले भनेका छन्, “यस्ता अराजक सोच विचार भएका केही प्रहरीकै कारण सिङ्गो प्रहरी प्रशासन नै बदनाम हुन्छ ।”
शनिबार साँझ ६ बजे नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालबाट ‘फूलको बासना सरी’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । सो म्युजिक भिडिओमा प्रहरीले देश र जनताका लागि कसरी काम गर्छन्, कस्तो सेवा दिन्छन्, कसरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन्छन् भन्ने सन्देश समेटिएको छ ।
उक्त भिडिओमा कमेन्ट गर्नेहरूले पनि प्रहरीदे विदेश हिंडेका युवकको गलाबाट खादा निकालेको विषय राखेका छन् । ‘दिप एक्स’ नामका प्रयोगकर्ताले कमेन्टमा भनेका छन्, “एउटा आफ्नो देशको नागरिक देश छाडेर बाध्यताले विदेशिँदै छ । सिधै यो खादा खोल् भन्दै तान्दैछ एउटा पुलिस । प्रशासनको कर्मचारी भएर आम नागरिकलाई दिनुपर्ने सम्मान दिन सक्दैनौ ?”
अर्का प्रयोगकर्ता फर्बिन रानाले भनेका छन्, “नेपाली नागरिक अमेरिका, यूरोप, अष्ट्रेलिया, खाडी मुलुक जहाँसुकै जाओस् त्यो आफ्नो कर्म गर्न जाने हो । तर नेपालको एयरपोर्टमा यस्तो खालको निच व्यवहार गर्ने त्यहाँको कर्मचारी र पुलिस प्रशासनको यस्तो किसिमको विभेद खेदजनक छ । औंठाछाप बर्दिवालहरूलाई उचित तालिम र शिक्षाको व्यवस्था दिनुपर्यो ।”
उक्त भिडिओलाई लिएर फेसबुकमा हेमन्त गिरी लेख्छन्, “प्रहरीले विदेश हिंडेको एक युवकको गलाबाट कस्तो रूखो तरिकाले खादा हटाएको भिडिओ देखेपछि मन छियाछिया भो । एउटा औसत नेपाली यति अभागी हुन्छ कि उत्सव, सम्मान आदिमा लगाइने खादामाला उसले देश छोड्ने बेला, परिवार छोड्ने बेला अझ भनौं जीवनकै सबैभन्दा पीडादायक समयमा लगाउन पाउँछ । त्यसैमा पनि यो राज्यको आँखा लाग्छ । औसत नेपाली हुनु भनेको आजीवन अभागी नेपाली हुनु नै हो !”
प्रहरीलाई सुझाव दिंदै अर्का फेसबुक प्रयोगकर्ता नवराज अवस्थीले सबैलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, “नेपाल प्रहरी भनेर सरकारी जागिर अनि निःस्वार्थ भावनाले जनताको हक हितमा लड्छु भन्ने छन् । तर एक-अर्काको सम्मान गर्न जरुरी छ । एयरपोर्ट प्रवेश गर्दा खाँदा लाउनुहुन्न भन्ने कहाँ लेखिएको छ ? देशभक्त अनि जनताको लागि बनेको हो भने यो मान्छेहरूलाई संस्कार सिकाउन जरुरी छ प्रहरी डिपार्टमेन्टबाट ।”
के हो वास्तविकता, के भन्छ प्रहरी ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक गोविन्द अधिकारीका अनुसार यो १४ भदौको घटना हो । “हामीले सेक्युरिटी चेक पोइन्टमा खादा निकाल्न लगाउँछौं,” प्रहरी उपरीक्षक अधिकारीले भने, “खादा निकाल्ने क्रममा भिडिओ खिचिरहेको रहेछ उहाँ (खादा लगाउने व्यक्ति)कै मोबाइलबाट । भाको के हो भने खादा निकाल्नुस् भन्दा उहाँले खादा भनेको बुझ्नु भएन । नबुझेर खादा भनेको के हो भनेर सोध्नु भयो । खादा भनेको यो हो भनेर खादा देखाउनु भएको हो । भिडिओमा चाहिं के के न गरेको जस्तो देखिन्छ । तर, भएको यत्ति हो ।”
विमानस्थलको सीसीटिभी क्यामेरा निगरानी गर्दा पनि दुर्व्यवहार गरेको नदेखिएको उनले सुनाए । उनले भने, “हामीले ड्युटीमा खटिएका प्रहरीलाई पनि सोध्यौं । त्यहाँ भएका अरूलाई पनि सोध्यौं । केही भएको छैन । खादा यो हो भनेर देखाउनु भएको मात्र हो ।”
खादा र माला सुरक्षाका दृष्टिकोणले निकाल्न लगाउने गरेको उनले सुनाए । स्क्रिन मेसिनबाट लगेज वा झोलाभित्र गइसकेपछि निकाल्ने क्रममा खादा अड्किएर केही दुर्घटना भएको भन्दै यात्रुको सुरक्षाका लागि खादा र माला निकाल्न लगाउने गरेको उनले सुनाए ।
“खादा र माला धेरै लगाएको व्यक्तिले त्यसबाट विस्फोटक पदार्थ वा अन्य केही घातक पदार्थहरू भए त्यसले सुरक्षा जोखिम निम्ताउन सक्छ,” उनले थपे, “यही जोखिम कम गर्नका लागि पनि विमानस्थलभित्र खादा लैजान मनाही गरिएको छ । यात्रुहरूलाई हामीले सम्झाउने बुझाउने काम गर्दै आएका छौं ।” यति गर्दा पनि खादा र माला लगाएपछि भित्र सेक्युरिटी चेकपोइन्टमा निकाल्न लगाउने गरेको उनले सुनाए ।