काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट ‘जेमिनाई’ मेसेज एपमा पनि उपलब्ध गराएको छ । यसअघि सीमित प्रयोगकर्तालाई मेसेज एपमा दिइएको जेमिनाई बिहीबारदेखि सबै प्रयोगकर्तामाझ उपलब्ध भएको हो ।
जेमिनाई प्रयोग गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने वा ब्राउजरमा जेमिनाई सर्च गरेर प्रयोग गर्नुपर्ने बाध्यता घटाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।
फोनमा गुगल मेसेज प्रयोग गर्ने प्रयोगकर्ताले सहजै यो फिचर प्रयोग गर्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिले गुगल मेसेज एप अपडेट गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा जेमिनाईको उक्त फिचर उपलब्ध हुन्छ ।
मेसेज एपबाटै जेमिनाईसँग कसरी कुरा गर्ने ?
सबैभन्दा पहिले मेसेज एप खोल्नुहोस् ।
त्यसपछि होमपेजको तल दायाँपट्टि मेसेजको आइकन देखिन्छ । त्योभन्दा माथि अर्को आइकन देखिन्छ । त्यो नै जेमिनाई हो ।
जेमिनाईको आइकनमा ट्याप गर्नुभयो भने तपाईंलाई जेमिनाईले स्वागत गर्छ । र, कसरी प्रयोग गर्न सक्नुहुन्छ भन्ने जानकारी दिन्छ ।
यसको प्रयोगले मेसेज ड्राफ्ट गर्न, विभिन्न प्लान बनाउन र रमाइलो कुराकानी गर्न सक्नुहुन्छ । एकपटक कुरा गरिसकेपछि अब च्याट चाहिंदैन भन्ने लाग्यो भने डिलिट गर्न सक्नुहुन्छ । तर, मेसेज लिस्टमा जेमिनाई नदेखियोस् भन्ने चाहनुहुन्छ भने त्यसलाई आर्काइभ गर्न सक्नुहुन्छ ।
आर्काइभ गर्नका लागि सबैभन्दा पहिले जेमिनाईसँगको मेसेज खोल्नुहोस् । अनि माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् । र, आर्काइभको अप्सन छान्नुहोस् । यसरी आर्काइभ गर्नुभयो भने च्याटलिस्टबाट जेमिनाई हट्छ । र, फेरि मेसेजको आइकन नजिक रहेको जेमिनाईको आइकनमा ट्याप गरी च्याटलाई निरन्तरता दिन सक्नुहुन्छ ।