काठमाडौं । आफूलाई लगाएको आरोप आईटी उद्यमी रुद्र पाण्डेले फिर्ता नलिए मुद्दा लगाउने जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स (जेनएक्सटी) ले बताएको छ । पाण्डेलाई एक पत्र लेख्दै जेनएक्सटीले आईफोन आयात गर्न नपाएको झोँकमा पाण्डेले दिएको अभिव्यक्तिले आफ्नो प्रतिष्ठामा गम्भीर क्षति पुर्याएको जनाएको हो ।
यसअघि पाण्डेले नेपालमा आईफोन आयात गर्न नपाएपछि आफ्नो सामाजिक सञ्जालमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई घुस्याहाको आरोप लगाएका थिए भने हाल आईफोन आयात गरिरहेको जेनएक्सटीले निर्मातासँग समझदारी नगरेको दाबी समेत गरेका थिए ।
पत्रमा जेनएक्सटीले पाण्डेको उक्त भनाइ पूर्ण रूपमा गलत भएको बताएको छ । साथै नेपालमा एप्पलका उत्पादन बिक्री वितरण गर्न कम्पनीसँग गरेको आधिकारिक सम्झौता आफूहरूसँग सुरक्षित रहेको र आफूले नेपालमा आईफोनसहित अन्य उत्पादन बेच्न सबै कानुनी अधिकार र अनुमति पाएको जेनएक्सटीको दाबी छ ।
त्यस्तै आफूहरूले एप्पलबाट मान्यता प्राप्त पूर्ण प्रमाणित सर्भिस सेन्टर सञ्चालन गर्ने गरेको र आवश्यक प्रमाणपत्र पाएको पनि जनाएको छ । यदि यो कुरामा विश्वास नलागे आफ्नो कार्यालयमा आएर पाण्डेले ती कागजपत्र हेर्न सक्ने जेनएक्सटीले बताएको छ । गोपनीयताका कारण यी कागजपत्र इलेक्ट्रोनिक वा अन्य कुनै माध्यमबाट भने शेयर गर्न नसक्ने उसको भनाई छ ।
पत्रमा जेनएक्सटीले पाण्डेले आफ्नो बारेमा सबै झुटा, भ्रामक र अपमानजनक भनाई पोस्ट गर्न बन्द गर्नुपर्ने, ती सामग्री सामाजिक सञ्जालबाट हटाउनु पर्ने र लिखित माफी माग्नु पर्ने माग गरेको छ । पाण्डेले यी काम पत्र प्राप्त गरेको १० दिनभित्र नगरे कम्पनीको प्रतिष्ठा जोगाउन कानुनी उपचारमा जाने चेतावनी पनि उसले दिएको छ ।