close

धरहरा निःशुल्क चढ्न सकिने, अनलाइनबाटै टिकट बुकिङ सुविधा

टेकपाना टेकपाना

असोज ३, २०८१ १२:४३

तस्वीर-सुदीप केसी तस्वीर-सुदीप केसी

काठमाडौं । आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले केही दिनका लागि धरहरा चढ्न निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

धरहरा अवलोकनका लागि dharhara.gov.np वेबसाइटमार्फत निःशुल्क अग्रिम टिकट बुकिङ गर्न सकिनेछ । तर, वेबसाइट निर्माणको काम बाँकी रहेकाले आजका लागि धरहरा परिसरकै काउन्टरबाट टिकट उपलब्ध गराइने आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । भोलिदेखि भने अनलाइनबाटै टिकट बुक गर्न सकिने व्यवस्था हुनेछ ।

अधिकारीका अनुसार एक दिनमा ५०० जनाले धरहरा निःशुल्क अवलोकन गर्न पाउनेछन् भने वृद्ध, अशक्त, अपाङ्गता भएका थप १०० जनालाई पनि प्रवेशको सुविधा दिइनेछ । एक पटकमा ८ देखि १० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै माथिल्लो बार्दलीमार्फत १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

सरकारले संविधान दिवसको अवसरमा धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो, जसअनुसार आज बिहान १०:३० बजेबाट धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । यद्यपि, धरहराको सम्पूर्ण संरचना पूर्ण रूपमा निर्माण सम्पन्न नभएकाले केही सेवा क्रमशः सञ्चालनमा ल्याइने अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८१ १२:५२