close

बजारमा आउँदै नेपाली ब्रान्ड ग्रिनलाइफको भर्टेक्स स्मार्टवाच, लन्च अफरमा २३०० को छुट पाइने

टेकपाना टेकपाना

असोज ७, २०८१ १३:२०

बजारमा आउँदै नेपाली ब्रान्ड ग्रिनलाइफको भर्टेक्स स्मार्टवाच, लन्च अफरमा २३०० को छुट पाइने

काठमाडौं । नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले ‘भर्टेक्स’ (Vortex) मोडेलको नयाँ स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । कम्पनीले मङ्गलबारदेखि स्टाइलिश र फिटनेसमा केन्द्रित स्मार्टवाच बजारमा ल्याउने भएको हो । 

कम्पनीका अनुसार यस स्मार्टवाचको फिता डुअल टोन अर्थात् सिलिकन र फ्रेम जिङ्क एलोए मेटलबाट बनेको छ । यसमा १.४३ इन्चको एमोलोड डिस्प्ले छ । स्क्रिन स्पष्ट र स्तरीय देखाउन यसमा ४६६*४६६ पिक्सेलको रेजोलुसन समावेश गरिएको छ । 

भर्टेक्स स्मार्टवाचमा सात ओटा प्रि-इन्स्टल डायलप्याड छन् । अनलाइन भएको खण्डमा थप २०० भन्दा बढी क्लाउडमा आधारित डायलप्याड छान्न सकिने विकल्प पाउन सकिनेछ । 

यस स्मार्टवाचमा १२३ ओटा स्पोर्ट्स मोड रहेका छन् । साइकिलिङ, रनिङ, योगादेखि अन्य व्यायामका गतिविधि यसमा रेकर्ड हुने बताइएको छ । यसमा आरटीएल ८७६३ ईडब्लूई डुअल कोर चिप र एचआर ३६०५ एचएक्स हर्ट सेन्सर रहेको छ । 

यसको सहायताले सटीक रूपमा हृदयको ढड्कन मापन गर्न सकिने दाबी कम्पनीको छ । त्यस्तै यसले ब्लड अक्सिजन लेभल, सुताइको अवस्था र सम्भावित स्वास्थ्य जोखिम निगरानी समेत गर्ने बताइएको छ । 

यसमा ३८० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई एक पटकको चार्जमा स्ट्यान्डबाई मोडमा ३० दिन र सामान्य प्रयोगमा आठदेखि १५ दिनसम्म प्रयोग गर्न सकिने बताइएको छ । 

यस स्मार्टवाचमा ब्लुटुथ ५.३ भर्सन प्रयोग गरिएको छ भने ब्लुटुथ कलको सुविधा पाउनुका साथै लामो दूरीसम्म स्मार्टवाच फोनमा कनेक्ट गर्न सकिने छ । यसले आईपी ६७ रेटिङ पाएको छ । सामान्य धुलो वा पानीबाट स्मार्टवाचलाई केही असर नपर्ने दाबी कम्पनीको छ । 

स्मार्टवाचमा प्रयोगकर्ताले आफ्नो चाहना अनुरूपका वाचफेस राख्न सक्छन् । यस बाहेक स्मार्टवाचले इन्टेलिजेन्ट भ्वाइस असिस्टेन्ट पनि सपोर्ट गर्छ । यसको सहायताले स्मार्टवाचलाई कन्ट्रोल गर्न सकिने कम्पनीको भनाई छ । स्मार्टवाचले द फिट एप सपोर्ट गर्छ । एपबाटै स्मार्टवाचले प्राप्त गरेका विभिन्न फिटनेस डेटा र हेल्थ इन्साइट पाउन सकिन्छ । 

यस स्मार्टवाचमा कम्पनीले छ महिनाको वारेन्टी दिएको छ । बजार मूल्य ५,९९९ रुपैयाँ रहेको भर्टेक्स स्मार्टवाचमा कम्पनीले लन्च अफर अन्तर्गत ३८ प्रतिशत छुट दिएको छ । अर्थात् यो स्मार्टवाच सीमित ग्राहकले ३,६९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । 

यो स्मार्टवाच मङ्गलबारदेखि दराजबाट खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १३:२५