close

असोज १२ देखि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

असोज ८, २०८१ १७:४२

असोज १२ देखि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

काठमाडौं । दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको छलफलपछि बुकिङ खुलाउने निर्णय भएको हो ।

यस वर्ष अग्रिम बुकिङमा अनलाइन प्लेटफर्मलाई बढी प्राथमिकता दिइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए । आमनागरिकको पहुँच डिजिटल प्लेटफर्ममा भइरहेको अवस्थामा बसको टिकट पनि अनलाइन माध्यमबाटै उपलब्ध गराउने काम भइरहेको उनले टेकपानालाई सुनाए । “हामीले यस वर्ष अनलाइन प्लेटफर्मलाई बढी प्राथमिकता दिने योजना बनाएका छौं । यसबाट आमनागरिकलाई टिकट लिन सहज हुने विश्वास छ,” उनले थपे । 

स्वारका अनुसार महासङ्घले अनलाइन प्लेटफर्मलाई दुई तिहाइ सिट र भौतिक काउन्टरलाई बाँकी सिट दिने योजना बनाएको छ ।

विगतका वर्षहरूमा अनलाइन प्लेटफर्मलाई सीमित सिट उपलब्ध गराए पनि सर्वसाधारणमा राम्रै प्रभाव पारेको बस टिकट सेवा प्रदायक कम्पनी बससेवाका सीईओ पीआर खनालले बताए । “अनलाइन प्लेटफर्ममा टिकट काट्न सहज हुने भएकाले यसमा सर्वसाधारणको आकर्षण बढी छ,” खनालले टेकपानासँग भने, “तर, चाडपर्वको बेला अनलाइन प्लेटफर्मले सीमित सिट पाउने भएकाले सिट अपुग हुने अवस्था थियो ।”

उनले अगाडि भने, “यस वर्षदेखि टिकट काउन्टरमा पनि हाम्रै सिस्टम प्रयोग हुन्छ । यस्तो हुँदा सिट अभाव हुने वा एउटै सिट दोहोरिने समस्या देखिंदैन ।” 

महासङ्घले अनलाइन प्लेटफर्मलाई प्राथमिकता दिने योजना बनाएसँगै प्राविधिक रूपमा आफूहरू तयार भएको खनालले बताए । उनका अनुसार उक्त प्लेटफर्मबाट ७० बढी जिल्लाका विभिन्न गन्तव्यका लागि दैनिक ४० हजार बढी टिकट काट्न सकिनेछ । 

औपचारिक रूपमै अग्रिम बुकिङको घोषणा भएपछि कम्पनीले विभिन्न अफर ल्याउने जनाएको छ । खासगरी पहिलो पटक बससेवा प्रयोग गरी बसको टिकट काट्ने प्रयोगकर्तालाई विशेष अफर उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ ८:३