close

नेपालको अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको भनाइ

टेकपाना टेकपाना

असोज १०, २०८१ १७:२६

नेपालको अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको भनाइ

काठमाडौं । नेपालको अर्थतन्त्र उकास्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सरोकारवालाहरूले बताएका छन् । सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले हालै आयोजना गरेको ‘एआई र डेटा साइन्स: डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ विषयक कार्यक्रममा वक्ताहरूले यस विषयमा चर्चा गरेका हुन् ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने, “अबको अर्थतन्त्रलाई बढाउने प्रमुख साधन एआई नै हुनेछ । डिजिटल दुनियाँमा जसले एआईलाई सदुपयोग गर्न सक्यो, त्यही व्यापारले फड्को मार्नेछ । त्यसैले एआई प्रविधिलाई साँचो रूपमा प्रयोग गर्न र यसको फाइदा उठाउन महत्त्वपूर्ण छ ।”

क्यान महासंघका महासचिव एवं साइबर सुरक्षा जानकार चिरञ्जीवी अधिकारीले भने, “एआईले उद्योग र विश्वविद्यालयबीचको खाडललाई पूरा गर्दै नेपाली अर्थतन्त्रलाई उकास्नेछ । भविष्यमा एआईको भूमिका महत्वपूर्ण रहनेछ, जसमा विश्वविद्यालय क्षेत्रको पनि संलग्नता हुनेछ । उद्योग र शिक्षालाई सँगसँगै अघि बढाउन एआईको योगदान अवश्य हुनेछ ।”

यस्तै, नेपाल चेम्बर अफ कमर्सको आईटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले एआईको अनुसन्धान र विकासको ठूलो अवसर शैक्षिक क्षेत्रसँग जोडिएको बताए । “नेपाली शैक्षिक क्षेत्रले एआई अनुसन्धान र विकासका लागि ठूलो अवसर प्राप्त गर्नेछ, जसले प्रविधि र उत्पादनलाई एकसाथ अगाडि बढाउन मद्दत पुर्‍याउनेछ,” उनले भने । 

कार्यक्रममा वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई कसरी स्थानीय उद्योगहरूमा लागू गर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभवहरू साटेका थिए । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डेटा साइन्सले सरकारलाई दीर्घकालीन सेवा र फाइदा पुर्‍याउने उपायहरूबारे आफ्ना विचार प्रस्तुत गरे ।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले एआईको प्रभावले शैक्षिक क्षेत्रमा खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्ने अवसरहरूको विकास हुने उल्लेख गरे ।

डिजिटल वालेट खल्तीका सीईओ विनय खड्काले एआईले नेपाली व्यवसायलाई सजिलै अगाडि बढाउन सहयोग गर्ने दाबी गर्दै खल्ती प्लेटफर्मलाई अहिलेको पेमेन्टको महत्वपूर्ण साधनका रूपमा स्थापित भइरहेको बताए ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण रहनेबारे आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न प्रविधि कम्पनी र शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८१ १७:५३