काठमाडौं । आतिशबाजी मन नपर्ने सायदै कोही होलान् । आतिशबाजीको साटो आकाशमा सयौं ड्रोनहरू उडे भने कस्तो देखिएला ! छिमेकी देश चीनले अहिले आकाशमा यस्तै सयौं ड्रोनहरू उडाएर निरन्तर विश्व रेकर्ड राखिरहेको छ ।
गत २६ सेप्टेम्बरमा शेन्जेन सहरमा अवस्थित शेन्जेन बे पार्कमा गरिएको कार्यक्रममा १० हजार १९७ ड्रोन उडाइएको थियो । ‘सिटी अफ स्काई, मेबी शेन्जेन’ थिम रहेको उक्त कार्यक्रमले एकसाथ सबैभन्दा धेरै ड्रोन उडाइएको र तिनलाई एउटै ल्यापटपबाट नियन्त्रण गरिएको गरी दुई शीर्षकमा विश्व कीर्तिमान रच्यो ।
उक्त ड्रोन लाइट शोको अन्तरालमा आकाशमा शेन्जेन जस्तै सहरको आकृति बनाइएको थियो । साथै विभिन्न चित्र र एनिमेसन पनि देखाइएको थियो ।
उक्त शो १ अक्टोबर हुने चिनियाँ राष्ट्रिय दिवसको उत्सवको तयारीमा गरिएको हो । यसले गर्दा अहिले शेन्जेनको आकाशमा सयौं ड्रोनहरूले बनाएका चित्रहरू दैनिकजसो देख्न सकिन्छ ।
Record-breaking 10,197 drones illuminate the sky to celebrate China's National Day. pic.twitter.com/FX14s1KPBU
विशेषतः यसरी सयौं ड्रोनहरूलाई ल्यापटपमा रहेको सफ्टवेयरबाट नियन्त्रण गरिन्छ । पछिल्लो समय यस क्षेत्रमा चीनले ठूलो फड्को मारिरहेको छ ।
धुवाँ वा अन्य प्रदूषण उत्पादन नगर्ने हुँदा यी ड्रोन पर्यावरणमैत्री हुने बताइएको छ । यसका साथै आतिशबाजीको तुलनामा ड्रोन कम खर्चिलो हुनुका साथै कम आवाज निकाल्ने गर्छ । यसले दर्शकलाई रमाइलो लाग्ने तथा वन्यजन्तुलाई समेत कम असर पार्ने जनाइएको छ ।
यद्यपि खराबी आएर आकाशबाट ड्रोन खस्न सक्ने सम्भावना रहने भएकाले सुरक्षाका लागि ताल-तलाउ तथा समुद्रमाथि ड्रोन उडाउने गरिन्छ ।