काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले त चलचित्रका दृश्यहरूलाई टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् ।
यो चलचित्रले समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई हास्यशैलीमा प्रस्तुत गरेको छ । युवतीको विवाहका लागि बुबाको संघर्ष र युवतीको प्रेम प्राप्तिका लागि गरिने प्रयासको द्वन्द्वलाई केन्द्रमा राखेर कथा बनाइएको छ । तर, अहिले यस चलचित्रका क्लिपहरू सामाजिक सञ्जालमा फैलिन थालेका छन्, जसले चलचित्र निर्माण पक्षलाई नकारात्मक प्रभाव परेको छ ।
यसैबीच चलचित्र विकास बोर्डले यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै बोर्डले चलचित्रका दृश्यहरू खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेमा उसको उपकरण जफत गरी दण्ड, जरिवाना तथा क्षतिपूर्ति तिराउने जनाएको छ ।
यसले चलचित्र निर्माताहरूको लगानी जोखिममा परेको र यसमा संलग्न सम्पूर्ण व्यक्तिहरूको मेहनत बेकार जाने जोखिम रहेको सूचनामा उल्लेख छ । साथै, चलचित्रघरभित्र भिडिओ खिच्ने सामग्रीको प्रयोग नगर्न र नगराउन बोर्डले सबैलाई आग्रह गरेको छ ।
पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम तथा फेसबुक रिल्सजस्ता प्लेटफर्महरूमा चलचित्रका दृश्यहरू पोस्ट हुने समस्या नेपाली चलचित्र निर्माताहरूले बारम्बार भोगेका छन् । यसले चलचित्र उद्योगमा नकारात्मक प्रभाव पारिरहेकोले यो कार्यलाई नियन्त्रण गर्न आवश्यक रहेको बोर्डले उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ:
"...चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ । अर्काको सिर्जना तथा सम्पतिको गैरकानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले चलचित्रघर भित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडिओ खिच्ने सामग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।"