काठमाडौं । बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर गरेको छ । कम्पनीले नेपालीहरूको महान् चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा सो उपलब्धि हासिल गरेको हो ।
यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई समेत दर्साएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत उल्लिखित सङ्ख्यामा ईभी डेलिभरी गरेको हो ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्य क्षमता र दिगो मोबिलिटी सोलुसनका साथ नेपालको विद्युतीय सवारी साधनको बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई नेतृत्वकर्ताको रूपमा स्थापित समेत गरेको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु आफ्ना लागि गर्वको दिन भएको बताए ।
“यसले बीवाईडीका विद्युतीय गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ,” उनले भने, “यसले बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत प्रस्ट पार्छ । यो उपलब्धि नेपालीहरूको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।”
पछिल्लो समय वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडीले नेपालभर आफ्नो उपस्थिति जनाउँदै गएको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले विद्युतीय सवारी साधनलाई लगातार प्रवर्धन गरिरहेको छ ।