काठमाडौं । चाडबाड लागेसँगै नेपाली अटो बजार क्षेत्र पनि थप चलायमान बनेको छ । गाडी वितरकहरूका अनुसार दशैं-तिहारको समयमा तुलनात्मक रूपमा बढी व्यावसायिक कारोबार हुन्छ । यसो भनिरहँदा अधिकांश मानिसहरूले शतप्रतिशत लगानी एकै पटक गरेर गाडी किन्ने परिपाटी भने न्यून हुन्छ ।
यस्तो अवस्थामा गाडी र त्यसमा पनि विशेष रूपमा ईभी खरिदको लागि वित्तीय संस्थाहरूले प्रदान गर्ने ऋण प्राप्त गर्नका लागि के प्रावधान छन् ? ईभी खरिद ऋणको लागि के-कस्ता कागजात तथा प्रक्रिया पूरा गर्नु पर्छ ? तथा बैंकको ब्याजदर कस्तो रहेको छ ? यस सामग्रीमा हामी यिनै विषयबारे चर्चा गर्नेछौँ:
कति पाइन्छ ऋण ?
सामान्यतया बैंकहरूले निजी विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म र सार्वजनिक प्रयोजनको लागि किनिने विद्युतीय सवारीमा ५० प्रतिशतसम्म ऋण उपलब्ध गराउने दाबी गर्छन् । अधिकतम ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने दाबी गरिए पनि व्यवहारिक रूपमा भने अधिकांश बैंकहरूले अधिकतम ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरेको देखिन्छ ।
यसरी ईभी खरिदको लागि ऋण निकाल्न ऋणीले आफूले लिएको ऋण तिर्न सक्छु भन्ने विश्वसनीयता बैंकलाई दिलाउन सक्नुपर्छ । यसका लागि बैंकले ऋणीको आम्दानी स्रोत, कर चुक्ता प्रमाणपत्र, अधिकतम एक वर्षको बैंक स्टेटमेन्ट तथा ऋणीको पहिचान खुल्ने कागजातहरू माग गर्छन् । बैंकसँग ऋणको माग गर्दा तपाईंले खरिद गर्न लागेको साधनको कोटेसन पनि बैंकले माग गर्दछ ।
बैंकहरूले टेकपानालाई जानकारी गराए अनुसार ईभीका लागि ऋण निकाल्दा बैंकहरूले सकेसम्म बजारमा चलेका ब्रान्डहरूका गाडीलाई प्राथमिकतामा राख्दछन् । केही बैंकले बजारमा 'टेस्टेड' र 'ट्रस्टेड' ईभी ब्रान्डको सूची नै बनाएर पनि राखेको र सोही सूचीमा रहेका ईभीहरूका लागि ऋण उपलब्ध गराउने गरेको पनि पाइन्छ ।
ब्याजदर कति पर्छ ?
ब्याजदर भने वित्तीय संस्था अनुसार फरक पर्ने गर्छ । ईभी लोनका लागि अहिले बैंकहरूले विशेष गरी दुई प्रकारका ब्याजदरको योजनाहरू ल्याएको देखिन्छ । पहिलो 'फिक्स्ड इन्ट्रेस्ट' (fixed interest rate) र दोस्रो 'फ्लोटिङ इन्ट्रेस्ट' ।
फिक्स्ड इन्ट्रेस्ट रेट भन्नाले ऋणको अवधिभर ब्याजदरमा कुनै पनि किसिमको परिवर्तन नआउने योजना हो भने फ्लोटिङ इन्ट्रेस्ट रेट बैंकको बेसरेटमा १ देखि ३ प्रतिशतसम्म थप गरी लिइने ब्याजदर हो ।
बेसरेट भन्नाले कुनै पनि बैंकले ऋणमा लिनुपर्ने न्यूनतम ब्याजदर भन्ने बुझिन्छ । राष्ट्र बैंकको निर्देशिकाको आधारमा बैंकहरूले नियमित रूपमा आफ्नो बेसरेट सार्वजनिक गर्ने गर्छन् । बैंकले बेसरेटमा थप गर्ने प्रतिशत भने ऋणीको 'क्रेडिट वर्दिनेस' अर्थात् ऋणीको आयस्रोतमा बैंकले प्राप्त गर्ने विश्वसनियतामा पनि भर पर्ने बैंकका प्रतिनिधिहरू बताउँछन् । बैंकहरूका अनुसार ईभीमा सामान्यतया ५ देखि ७ वर्षसम्मको ऋण दिइने गरिन्छ ।
कति लाग्छ सेवा शुल्क ? समय अगावै ऋण तिर्दा के हुन्छ ?
सेवा शुल्क भने नेपालका अधिकांश बैंकहरूमा समान रहेको छ । नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार ऋणमा अधिकतम सेवा शुल्क ऋणको ०.७५ प्रतिशत लिन सकिन्छ । यसै कारण अधिकांश बैंकहरूको सेवा शुल्क ०.७५ प्रतिशत नै रहेको छ ।
बैंकहरूबाट ईभीको लागि ऋण निकाल्दा ऋणको अवधि पाँचदेखि सात वर्षसम्म तोकिएको हुन्छ । यद्यपि कुनै ऋणीहरूले सो अवधि भन्दा पहिले नै ऋण तिर्न चाहेमा कुनै अतिरिक्त शुल्क तिर्नुपर्छ कि पर्दैन ?
राष्ट्र बैंकले यस सन्दर्भमा पनि स्पष्ट मापदण्ड तोकिदिएको छ । ५० लाख भन्दा मुनिको ऋण भएको सन्दर्भमा समय अगावै तिरेको ऋणमा कुनै शुल्क लाग्दैन । यस बाहेक ५० लाखभन्दा माथि दुई वर्ष भित्रमा कसैले ऋण तिर्न चाहेमा ऋणको रकमको ०.७५ प्रतिशत, दुईदेखि पाँच वर्षसम्म ०.५ प्रतिशत र पाँच वर्षभन्दा माथि ०.२५ प्रतिशत 'प्रिपेमेन्ट चार्ज' तिर्नु पर्ने हुन्छ । बैंकहरूले ईभीमा अधिकतम एक करोडसम्म ऋण उपलब्ध गराउने दाबी गर्छन् ।
कुन बैंकको ब्याजदर कस्तो ?
बैंकका प्रतिनिधिहरूले टेकपानालाई जानकारी गराए अनुसार हाल कुमारी बैंक, नबिल बैंक, ग्लोबल आइएमई, सानिमा बैंक लगायतले ईभीमा फिक्स्ड इन्ट्रेस्टको सुविधा दिइरहेका छन् । कुमारी बैंकले हाल ईभीमा पाँच वर्षको लागि ८.९९ प्रतिशतको फिक्स्ड इन्ट्रेस्टको सुविधा दिएको छ ।
यस्तै नबिल बैंकले पाँच वर्षको अवधिको लागि ८.२५ र सात वर्षको अवधिको लागि ८.४९ प्रतिशत, ग्लोबल आइएमईले पाँच वर्षको लागि ९.४९ प्रतिशत र पाँच वर्षमाथि ९.९९ प्रतिशत र सानिमा बैंकले पाँच वर्षको लागि ८.४९ प्रतिशत फिक्स्ड इन्ट्रेस्ट रेट प्रदान गरिरहेका छन् ।
यस बाहेक अधिकांश अन्य बैंकहरूले भने बेसरेटमा थप एक देखि तीन प्रतिशतसम्म फ्लोटिङ इन्ट्रेस्ट रेटको सुविधा दिइरहेका छन् । हिमालयन बैंकले भने २८ नोभेम्बर सम्म बेसरेटमा थप ०.५ प्रतिशत ब्याजदर कायम गरेको छ । हिमालयन बैंकको हालको बेसरेट ८.६३ प्रतिशत रहेको छ । सोही अवधिसम्मको लागि सेवा शुल्क पनि ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले टेकपानालाई जनायो ।
यस्तै एसबीआईले पनि फेस्टिभल अफरको रूपमा ईभी लोनमा विशेष योजना सार्वजनिक गरेको जनाएको छ । जस अनुसार चाडपर्व अवधिभर बैंकले बेसरेटमा थप ०.३८ प्रतिशत मात्र ब्याजदर कायम गरेको छ । हाल एसबीआईको बेसरेट ७.९१ प्रतिशत रहेको छ ।