close

साइन्स फिक्सन फिल्मका निर्देशकले लगाए एलन मस्कमाथि डिजाइन चोरीको आरोप

टेकपाना टेकपाना

असोज २९, २०८१ ९:५५

साइन्स फिक्सन फिल्मका निर्देशकले लगाए एलन मस्कमाथि डिजाइन चोरीको आरोप

काठमाडौं । सन् २००४ मा रिलिज भएको साइन्स फिक्सन ‘आई, रोबोट’ का निर्देशक एलेक्स प्रोयासले अर्बपति उद्यमी एलन मस्कलाई डिजाइन चोरी गरेको आरोप लगाएका छन् । बिहीबार सार्वजनिक भएको अप्टिमस रोबोट, रोबो ट्याक्सी र रोबो भ्यानको डिजाइन फिल्मबाट कपी गरिएको आरोप लागेको हो । 

निर्देशक प्रोयासले फिल्मको डिजाइन र मस्कले सार्वजनिक गरेका प्रडक्टको फोटो एक्समा शेयर गरेका छन् । “हे एलन, कृपया मलाई मेरो डिजाइन फिर्ता दिनुहुन्छ ?,” उनले लेखेका छन् । 

मस्कले दुई यात्रु मात्र अटाउने, कुनै स्टेरिङ ह्विल र पेडल नभएको रोबो ट्याक्सी, २० यात्रु अटाउने स्वचालित रोबोभ्यान र मान्छे जस्तै कुरा गर्न सक्ने, बालबच्चाको रेखदेख गर्न सक्ने रोबोटको प्रोटोटाइप सार्वजनिक गरेका थिए । उक्त कार्यक्रमलाई ‘वि, रोबोट’ नाम दिइएको थियो । यहींबाट ‘आई, रोबोट’का निर्देशक प्रोयासले आफ्नो डिजाइन कपी गरिएको अड्कल काटेका थिए । 

अस्ट्रेलियाली फिल्म निर्देशकले इन्स्टाग्राम पोस्टमा ‘एक अत्यन्त प्रतिभाशाली डिजाइन टोली’सँग मिलेर फिल्मका दृश्यहरू तयार गरेको बताएका छन् । उनलाई केही व्यक्तिले डिजाइनको मौलिकताबारे प्रश्न गरेका थिए । 

निर्देशकले यसो भनिरहँदा उनले फिल्मका दृश्यहरू सामूहिक प्रयासको नतिजा भएको औंल्याएका छन् । जहाँ मौलिकता निर्देशकको मात्र नभई सम्पूर्ण टोलीको सृजनात्मकताबाट आएको सङ्केत गरिएको छ । “अर्कोतर्फ एलन मस्कसँग ट्यालेन्ट नभएको डिजाइन टिम रहेछ जो ‘आई, रोबोट’ र त्यस्तै फिल्म हेर्ने रहेछन् भन्ने देखियो,” उनले इन्स्टाग्राममा भनेका छन् । 

सोही फिल्मका प्रडक्सन डिजाइनर प्याट्रिक ट्याटोपोलसले एलन मस्क आफूहरूको डिजाइनबाट प्रभावित भएको प्रतिक्रिया दिएका छन् । 

एक्समा अधिकांश प्रयोगकर्ताले निर्देशकको आलोचना गरेका छन् । ‘तिमीले फिल्ममा डिजाइन गर्‍यौं, एलन मस्कले वास्तविकतामै ल्याइदिए’ धेरैको आशय छ । त्यस्तै निर्देशक आफै पनि सन् १९२७ मा सार्वजनिक भएको जर्मनी फिल्म मेट्रोपोलिसबाट प्रभावित भएको भन्दै धेरैले रिप्लाई गरेका छन् । मस्कले यस विषयमा हालसम्म आफ्नो प्रतिक्रिया दिइसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ ९:५५